टी–२० विश्वकप : पाकिस्तानकाे आयरल्यान्डमाथि सान्त्वना जित

 आयरल्यान्डलाई ३ विकेटले हराउँदै पाकिस्तानले टी–२० विश्वकपमा आफ्नो अभियान अन्त्य गरेको छ । पूर्व च्याम्पियनसमेत रहेको टोली यसपटक भने समूह चरणबाटै बाहिरिन पुगेको हो ।

भारत र अमेरिकासँग पराजित भएको पाकिस्तान समूह ए मा तेस्रो स्थानमा चित्त बुझाउनु बाध्य बन्यो । यो समूहबाट भारत र अमेरिका यसअघि नै सुपर ८ चरणमा प्रवेश गरिसकेका छन् ।सान्त्वना जितका लागि खेलिएको आइतबारको आफ्नो अन्तिम खेल पनि पाकिस्तानका लागि सहज भएन । १ सय ७ रनको मध्यम लक्ष्य पछ्याउँदा पाकिस्तानले १८.५ ओभरसम्म सङ्घर्ष गर्नुपर्‍यो ।

कप्तान बाबर आजम अन्तिमसम्म नटआउट रहेर टोलीलाई जितसम्म डोर्‍याए । उनले ३४ बलमा ३२ रन जोडे ।मोहम्मद रिजवान, साइम अयुब र अब्बास अफ्रिदीले १७–१७ रनको योगदान दिए । अन्त्यमा शाहिन शाह अफ्रिदीले ५ बलमा २ छक्काको मद्दतले १३ रन जोड्दै टोलीलाई जित दिलाए ।

आयरल्यान्डका लागि ब्यारी म्याकार्थीले ३ तथा कर्टिस क्याम्फरले दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । मार्क अडेर र बेन ह्वाइटले एक–एक विकेट हात पारे ।यसअघि पाकिस्तानी बलरहरुले शानदार बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रनमा सीमित बनेको थियो । 

खेलमा आयरल्यान्डले खराब सुरुवात गरेको थियो । शून्य रनमा पहिलो विकेट गुमाएको टोलीले ६ विकेट गुमाउँदा मात्र ३२ रन जोडेको थियो । तर, गेराथ डेलानी र मार्क अडेरले आयरल्यान्डको इनिङ्सलाई सम्हालेका थिए । डेलानीले १९ बलमा ३१ रन जोडे । उनले एक चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, अडेरले १९ बलमा १५ रन जोडे ।खेलको अन्त्यतिर जोस लिटलले १८ बलमा २२ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए । जर्ज डकरेलले १० बलमा ११ रनको योगदान दिए ।

पाकिस्तानका लागि शाहिन साह अफ्रिदीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले यस क्रममा मात्र २२ रन खर्चिएत्यस्तै, इमाद वसिमले ४ ओभरमा मात्र ८ रन खर्चिएर आयरल्यान्डका तीन खेलाडीलाई पभेलियन फर्काए । मोहम्मद आमिरले किफायती बलिङ गर्दै ४ ओभरमा ११ रन मात्र खर्चिएर २ विकेट लिए ।