सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, २ असार : पोखरा बजारको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।

सेती नदी संरक्षण अभियानका पदाधिकारीहरुले आज प्रधानमन्त्री दाहालसँग भेट गरी मानवीय दोहनले कुरुप बनेको नदीको दीर्घकालीन संरक्षणका लागि माग गरेको हो । अभियानका अध्यक्ष हेम पौड्यालले सेती नदीको वर्तमान दूरावस्थाबारे जानकारी गराउँदै सेती नदीको सीमाङ्कन, नदी संरक्षण तथा व्यवस्थापनका लागि गुरुयोजनाको निर्माण, नदीमा आठदेखि १० स्थानमा चेक ड्याम निर्माण गर्न माग गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पवित्र सेती नदी अहिले मानवीय कारणले अत्यन्त कुरुप बन्दै गएको छ । सेतीमा वर्षौंदेखि हुँदै आएको नदीजन्य पदार्थको उत्खनन र किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरि तरिकाले दोहन बढेपछि नदीको सीमाङ्कन गरेका हौँ ।”

नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेको कारण बर्सातमा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको अभियन्ता पौडेलले बताउनुभयो ।
 
यसैगरी कोत्रेदेखि नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साइकलमार्ग बनाउन र नदीको दुवै किनारामा वृक्षरोपण तथा चौतारा निर्माण, नदीमा बिसर्जन भइरहेको फोहर अविलम्ब रोक लगाउनुपर्ने माग समितिको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीका बारेमा चासो राख्दै संरक्षणका लागि पहल गर्ने विश्वास दिलाउनुभएको थियो । 

प्रधानमन्त्रीले नदी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यवाद दिनुहुँदै सरकारले यो विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको समितिका सदस्य भुवनेश्वर पोखरेलले बताउनुभयो । 

यसैगरी अभियानको टोलीले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक  सञ्जीव बराललाई समेत भेट गरी नदीको सीमाङ्कन, गुरुयोजनालगायतका विषयमा छलफल गरेको थियो ।