टी-२० विश्वकप : आज राति पाकिस्तान र आयरल्यान्डबीच खेल हुँदै

वेस्ट इन्डिज र अमेरिकामा संयुक्तरूपमा आयोजित आइसिसी विश्वकप टी-२० क्रिकेटमा आज राति पाकिस्तान र आयरल्यान्डबीच खेल हुँदैछ। समूह ‘ए’ अन्तर्गतको अन्तिम खेल नेपाली समयअनुसार राति सवा ८ बजे अमेरिकाको फ्लोरिडामा सुरु हुनेछ।

समूह ‘ए’ बाट अपराजित भारत ७ अंकमा शीर्ष र अमेरिका ५ अंकमा दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगिसकेका छन्। क्यानडासँगै पाकिस्तान र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। आजको खेल पाकिस्तान र आयरल्यान्डका लागि प्रतिष्ठाको लडाइँमात्र हुनेछ।

भारत र अमेरिकासँग पराजित पाकिस्तानले क्यानडालाई भने हराएको थियो। अमेरिकासँग अंक बाँडेको आयरल्यान्ड भारत र क्यानडासँग भने पराजित भएको थियो। पाकिस्तानको २ र आयरल्यान्डको एक अंक छ।

आजको खेलमा जित निकाल्न सके दुवै टोलीले समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताको सुखद् अन्त्य गर्नेछन्।

सुपर ८ पुग्ने ७ टोलीको टुंगो

सुपर ८ मा पुग्ने आठमध्ये सात टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट भारत र अमेरिका, समूह  ‘बी’ बाट अस्ट्रेलिया र इंल्यान्ड, समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिजले सुपर ८ मा स्थान पक्का गरेका छन्।

नेपालसमेत रहेको समूह ‘डी’ बाट भने शीर्ष स्थानमा रहँदै दक्षिण अफ्रिकाले स्थान बनाएको छ। यो समूहबाट सुपर ८ मा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ। ४ अंकमा दोस्रो र २ अंकमा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्समध्ये एक टोली अघिल्लो चरणमा पुग्नेछ।

सोमबार बिहान नेपालविरुद्धको खेलमा जित निकाले बंगलादेश सुपर ८ मा पुग्नेछ। नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएर मात्र पुग्दैन, सँगसँगै बंगलादेश नेपालसँग फराकिलो अन्तरमा पराजित समेत हुनुपर्नेछ।

सुपर ८ का खेलहरु बुधबारदेखि सुरु हुनेछन्।