सत्तागठबन्धनसंग चिढिएका देउवा एमाले अध्यक्ष ओलीसंग सम्बन्ध बढाउँदैं, के एमाले सरकारकामा आउन लागेको हो ?

सत्तागठबन्धभित्र समस्या आउन थालेपछि प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना विशेष दुतको रुपमा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसंग संवाद अगाडि बढाएका छन् । प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ताको तयारी भइरहेको छ। सत्ता गठबन्धनभित्र किचलो जारी रहेका बेला देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग निकटता बढाउने प्रयास गरेका हुन्। लामो समयदेखि टाढिएका उनीहरु थप संवाद गरेर अघि बढ्न तयार भएको बुझिएको छ।

६७ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि मा देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित माधव नेपाल र उपेन्द्र यादवसंग पनि रुष्ट भएका छन् ।चार जना मन्त्री लिएर दुई महिनादेखि एक्लै सरकार चलाइरहेका देउवा मन्त्रीपरिषद विस्तार, बजेट अनुमोदनजस्ता महत्वपूर्ण विषयमै असफल रहँदै आएका छन्। यही अवस्थामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० सरकार सञ्चालन सहज बनाउनेतर्फ अग्रसरता नदेखएको भन्दै देउवाले एमाले अध्यक्ष ओलीसँग निकटता बढाउन थालेका हुन्।

मूलत एमसीसी विवादमा परेपछि सत्ता गठबन्धनमा फाटो आएको हो। संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्र कुरा नमिलेपछि देउवा ‘दूत’ खटाएर एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधारतर्फ लागेका हुन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय महत्वका विषयहरुको पक्षमा बहुमत जुटाउन प्रमुख प्रतिपक्षी एमालेसँग सम्बन्ध सुधार गर्न चाहेको कांग्रेस नेताहरूको भनाइ छ।

सत्ता साझेदार दलहरूबीच खटपट भइरहेका बेला राष्ट्रिय महत्वका विषयमा बहुमत जुटाउन कांग्रेसले एमालेको सहयोग खोजिरहेको दुवै दलका नेताहरुको भनाइ छ। राष्ट्रिय महत्वका मुद्दाहरूमा सहमति जुटाउनकै लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको सल्लाहमै एमाले अध्यक्ष ओलीसँग भेटघाट गरिरहेका छन्। कानुनमन्त्री कार्कीले बिहीबार दिउँसो भक्तपुरको बालकोटस्थित निवासमा गएर अध्यक्ष ओलीसँग संवाद गरेका थिए। उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका थिए।

यसो त एमालेका नेताहरुले अब कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताएका छन्। केही नेताहरुले त अब कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउने दाबी पनि गर्न भ्याएका छन्। प्रधानमन्त्री देउवाले भने ओलीसँग भेट गरी संसदको गतिरोध अन्त्य गर्न आग्रह गर्ने र थप समसामयिक विषयमा कुरा गर्ने बताइएको छ। भेटका लागि दुबै नेता राजी भए पनि समय र स्थान तय भएको छैन।