खेलकुदमा भ्रष्टाचारः के हेर्दै छ अख्तियार ?

खेलाडी र अफिसियलका लागि खरिद गरिएको ट्रयाक सुटमा घोटाला

गत वर्षको असोजमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र अफिसियलका लागि खरिद गरिएको ट्रयाक सुटमा घोटाला भएको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको धेरै भइसकेको छ ।

आन्तरिक खेलकुदको महाकुम्भको रुपमा लिइने राष्ट्रिय खेलकुद ०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा भएको थियो । राष्ट्रिय खेदकुद परिषद् (राखेप) ले ११ हजार सेट ट्रयाक सुट, भेस्ट र जुत्तामोजाका लागि प्लस प्वाइन्ट ट्रेडिङलाई ठेक्का दिएको थियो । 

राखेपले प्लस प्वाइन्ट ट्रेडिङलाई एक सेटको ११ हजार रुपैयाँका दरले ११ हजार सेटका लागि १२ करोड १० लाख रुपैयाँमा ठेक्का दिएको थियो । त्यसमध्ये प्लस प्वाइन्ट ट्रेडिङले ८ हजार सेट मात्र राखेपलाई बुझाएको थियो । अर्थात् ८ करोड रुपैयाँको मात्र ट्रयाक सुट राखेपलाई उपलब्ध गराएको थियो । 

ठेक्का परेभन्दा ३ हजार सेट कम बुझाउँदा पनि राखेपले सबै अर्थात् ११ हजार सेटको नै भुक्तानी गरेको थियो । यसअनुसार ट्रयाक सुट खरिदमा मात्र ३ करोड ३० लाख रुपैयाँ घोटाला भएको छ । यसबारे अख्तियारले देखेको नदेख्यै गरिरहेको छ ।

अझ प्लस प्वाइन्ट ट्रेडिङले बुझाएको ट्रयाक सुट गुणस्तरहीन भेटिएको थियो । खेलाडीले पाएको ट्रयाक सुट खेल मैदानमा नै च्यातिएको तथा केही खेलाडीले त समयमा नै पाउन नसकेको कारण कतिपय खेलाडीले अरुसँग मागेर काम चलाउनुपरेको थियो । 

राखेपले किट्स ब्याग, निर्णायकहरुको जर्सी र अन्य खेल पोसाकका लागि १५ करोड ३९ लाख ८५ हजार ८ सय २१ रुपैयाँ खर्च गरेको जानकारी दिएको थियो । राखेप सदस्यसचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय ३९ रुपैयाँ ८ पैसा खर्च भएको जानकारी दिएका थिए । त्यो रकम २१ वटा शीर्षकमा खर्च भएको उनले देखाएका थिए, कुनै पनि हिसाबले पत्यारलाग्दो छैन ।   

घिसिङले सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार ७ सय रुपैयाँ आम्दानी भएको जानकारी गराएका थिए । कुल ६० करोड ६१ लाख ५२ हजार ७ सय मध्ये ६ करोड ८२ लाख ४८ हजार ४ सय ६० रुपैयाँ ९२ बाँकी रहेको जानकारी गराएका थिए। 

नवौँ राष्ट्रिय खेलकुदको असोज २८ गते भएको उद्घाटन र कात्तिक ३ गते भएको समापनमा मात्र २ करोड ७० लाख १८ हजार १ सय ८३ रुपैयाँ खर्च देखाइएको थियो । प्रचारप्रसारका लागि १ करोड २४ लाख ५१ हजार ५ सय १७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । आतिसबाजीका लागि मात्र ९ लाख खर्च भएको समारोह समितिले जनाएको थियो । 

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन असोज २८ गते भए पनि खेलहरु २३ गतेबाट नै सुरु भएका थिए । त्यस्तै एक महिनाअघि नै काठमाडौंमा पुरुष क्रिकेट सम्पन्न भएको थियो । महिला क्रिकेटको पहिलो खेल भने म्याटमा खेलाउनुपरेको थियो। लगातार वर्षाका कारण पिच खेल्नयोग्य नभएपछि म्याटमा खेल गर्नुपरेको थियो । 

नवौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न गण्डकी खेलकुद परिषद् आयोजक भनिए पनि राखेपको केन्द्रीय नेतृत्वकै भूमिका मुख्य देखिन्थ्यो । राष्ट्रिय खेलकुदको उद्घाटन र समापनमा मात्र हैन प्रचारप्रसार र खेलका लागि आवश्यक सामग्रीमा पनि केन्द्र नै हाबी देखिएको थियो । ३९ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गर्दा पोखराले नयाँ भौतिक पूर्वाधार पाउन सकेन । 

भएको बजेटमध्ये अधिकांश रकममा भ्रष्टाचार भएको भनी सम्बद्ध व्यक्तिहरूले नै अख्तियारमा उजुरी दिँदा पनि अहिलेसम्म विस्तृत अनुसन्धान गरी मुद्दा चलाउन अख्तियारलाई केले रोकेको हो ?