पाँच लाख घूस लिएको पुष्टि भएपछि वडाध्यक्षलाई डेढ वर्ष कैद

काठमाडौं, २७ वैशाख जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस्तो फैसला गरेको हो । 

जितपुरसिमरा वडा नं. ३ का अध्यक्ष ताराबहादुर कार्कीलाई विशेषले सजाय सुनाएको हो । उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय तोकेको छ भने घूस लिएको रकम जरिवाना तिराउने भएको छ । 

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ घूसहित नियन्त्रणमा लिएको थियो । उनले घरबाटो सिफारिस गरिदिने भन्दै घूस मागिरहेको उजुरी अख्तियारमा परेको थियो । 

घूससहित पक्राउ परेका कार्कीलाई प्रतिवादी बनाउँदै १६ पुस २०८० मा मुद्दा दायर भएको थियो । जसमा ठहर हुने फैसला भएको हो ।