घूस लिएको अडियो र भिडियोका आधारमा इञ्जिनियरलाई तीन महिना कैद

काठमाडौं, २७ वैशाख रुपन्देहीको कोटहीमाई गाउँपालिकामा करार सेवामा कार्यरत इञ्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अरविन्द कुमार यादवलाई विशेष अदालतले घूस लिएको भन्दै सजायसमेत सुनाएको छ । 

बिहीबार विशेष अदालतले गत वर्ष १५ साउनमा दायर मुद्दामा फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस मुद्दामा फैसला गरेको छ । 

यादवलाई विशेषले तीन महिना कैदका साथै ४५ हजार रुपैयाँ जरिवाना तोकेको छ । उजुरकर्ता र इञ्जिनियर यादवबीचको टेलिफोन संवादको रेकर्डिङ र रिसवत लेनदेनसम्बन्धी भिडियो प्रमाणको आधारमा विशेष आरोपदाबी पुष्टि हुने निष्कर्षमा पुगेको हो । 

यादवले उक्त गाउँपालिकाको वडा नं. ७ अन्तरगतको सडक ढलान र ग्राभेल गर्नका लागि कोटेसनमार्फत् काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घूस माग गरेका थिए । उनलाई २० असार २०८० मा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले घूससहित नियन्त्रणमा लिएको थियो ।