केन्द्रमा प्रचण्डसँग मिल्दा पनि उपेन्द्र यादवले जोगाउन नसक्ने भए मधेसको सत्ता

प्रधानमन्त्रीको सपना बोकेर गठबन्धनमै घात गर्न थालेपछि पार्टी विभाजनको चोट खेपेका जसपा अध्यक्ष उपेन्द्र यादवमाथि अर्काे संकट आइलागेको छ। अशोक राई समूहले नयाँ पार्टी दर्ता गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नै मिलेर जाने उदघोष गरेका यादवले मधेसमा सत्ता गुमाउने भएका हुन्। यादवको राजनीति शक्ति नै मधेस हो, उनी मधेस आन्दोलनबाट उदाएका नेता हुन्।

तर, गठबन्धनमै रही उप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री बनेका यादवले आफ्नै खुट्टामा बन्चरो हानेपछि अब एमाले र माओवादीले मधेसमा जसपा नेतृत्वको सरकारमा नरहने सहमति गरेका छन्। मधेसमा सबैभन्दा ठूलो दल एमाले रहे पनि गठबन्धनको सहमतिका आधारमा १९ सिटको जसपाले सरकार चलाइरहेको थियो।

तर, अब एमाले र माओवादी मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिने भएका हुन्। हुन् त यसअघि नयाँ गठबन्धन बन्दा मधेसमा जसपालाई सरकारको नेतृत्व दिन चाहेका थिएनन् एमाले र माओवादीले। पछि केन्द्रका नेताहरुले समीकरण अनुसार जाने निर्णय गरेपछि पछि हटेका थिए।

अहिले भने यादवसँग प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली विच्किएको मौकामा मधेशमा नयाँ समीकरण बन्न लागेको हो। एमाले वा माओवादीबाट मुख्यमन्त्री बन्नेगरी जसपा सरकारबाट बाहिरिने भएका हुन्। मुख्यमन्त्रीमा दुवै दलको दाबी रहे पनि  टुंगिनेबित्तिकै यादवलाई दिइएको समर्थन फिर्ता लिइनेछ। नयाँ सरकारमा भने नयाँ जसपा पनि सहभागी हुने सम्भावना छ।

राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरिसकेका छन्। यसको अर्थ १९ सदस्य रहेको जसपाबाट यादव अल्पमतमा पर्दैछन् । 

राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसद जसपामा हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरू रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

नयाँ जसपासँग गठबन्धन सकारात्मक छ। त्यही भएर मधेशमा अबको समीकरण नयाँ जसपासँग हुने ठानिएको छ। माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आन्तरिक छलफलमा रहेको बताए । 

मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।