साउदी अरेबियाले हज यात्राको नियम कडा बनायो, उल्लंघन गरे जरिवाना

साउदी अरेबियाको आन्तरिक मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी दिएको छ ।

गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । यो जरिवाना करिब २ लाख २३ हजार रुपैयाँ हुन सक्छ ।

गृह मन्त्रालयका अनुसार अनुमतिविना हजयात्रा गर्नु गैरकानुनी मानिने र ती हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ ।

यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।