मातातीर्थ औँशीका दिन बिहानै घरभित्र मृत भेटिनु विष्टको हत्या भएको पुष्टि

काठमाडाै । आमाको मुख हेर्ने तथा मातातीर्थ औँशीका दिन बुधबार एकाबिहानै आफ्नै घरभित्र मृत भेटिनु भएको ६६ वर्षीया विष्णुमाया विष्टको हत्या भएको पुष्टि भएको छ ।

उहाँको टाउकोमा रडले हानेको चोट र लगाएको सुन नभेटेपछि प्रहरी उहाँको हत्या भएको निष्कर्षमा पुगेको हो । बिर्तामोड नगरपालिका ४ कालिकाटोल स्थानीबासिन्दा विष्णुमाया मृत भेटिएपछि बुधबार नै झापा प्रहरीले धरानबाट तालिम प्राप्त ल्याएर हत्यारा पत्ता लगाउने प्रयास गरेको थियो । तर, बिहीबार बिहानसम्म प्रहरीलाई कुनै सफलता मिलेको छैन ।

मंगलबार मध्यराततिर सुत्नु भएकी विष्णुमायाको शव बुधबार बिहान उहाँ सुत्ने गरेको खाट नजीक भुइँमा कोल्टे परेको शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियोे ।

विष्णुमायाले मङ्गलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै काठमाण्डौँमा रहनु भएका छोरा प्रकाशलाई फोन गर्नु भएको थियोे । आमाले फोन गरेपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई फोन गरेर आफ्नो घरमा गइदिन आग्रह गर्नु भएको थियोे ।

लगत्तै छिमेकीहरू विष्टको घरमा पुगेर केहीबेर गफ गरेर फर्कनु भएको थियोे । त्यसपछि लुटेराले घरायसी हतियार प्रयोग गरेर विष्णुमायाको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) का डिएसपी प्रकाश विष्टले घटनाको प्रकृति हेर्दा विष्णुमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको जस्तो देखिएको बताउनुभयो ।

घटनास्थलमा फलामको रड समेत फेला परेको छ । ‘मृतकको टाउको गम्भीर चोट देखिन्छ, औँलामा पनि चोट छ । उहाँले लगाएको सुन छैन, लुटेराले सुन लुटपाट गरेको छ’ डिएसपी विष्टले भन्नुभयो ।