माधव नेपालको अस्वाभाविक र रहस्यमय चलखेलले अस्थिरताको अर्को अध्यायतिर देश

काठमडाैँ। वैशाख १० गते नेपालका पहिलो पुस्ताका कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई धेरै पेल्न खोजे उथलपुथल ल्याइदिने धम्की दिएका थिए ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि उनले दिएको यो धम्की सामान्य थिए । जुनसुकै बेला सत्ता गठबन्धन ढल्न सक्ने संकेत उनले गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री प्राप्तिको निहुँ बनाएर माधव नेपालले एमाले र माओवादीसँग सम्बन्ध तोड्न खोजेका थिए । तर झलनाथ खनाल, प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीकै दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाएर माधव नेपालको दाउ असफल पारिदिएका थिए ।

तर माधव नेपालको भित्री चलखेल रोकिएको छैन । उनले हालको बामबहुल गठबन्धन भत्काउन हरसम्भव कोसिस गरिहेका छन् । अर्थात् उथलपुथल ल्याएर मुलुकलाई अस्थिरताको नयाँ सुरुङमा प्रवेश गराउन उनी लागिपरेका छन् ।

उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र दक्षिणी शक्तिले भरथेग गरेको हुन सक्छ । प्रधानमन्त्रीको प्रस्ताव त अब ज्ञानेन्द्र शाहीलाईपनि कतैबाट भइसकेको होला यो देशमा । माधव नेपालले त अब उधारो प्रधानमन्त्री होइन, तत्कालै हाताहाती चाहियो भन्ने नै भए । देउवाको यस्तै प्रस्ताव र दक्षिणी शक्तिको उक्साहटमा नेपाल अहिले भुईँ न भाँडामा हुन पुगेका छन् ।

त्यसो त एमाले–माओवादीबीच गठबन्धन बनाउने सहमति गर्दा ओली र प्रचण्डले एकीकृत समाजवादीलाई थाहै दिएका थिएनन् । त्यही भएर पनि माधव नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तरजसो छलफलमा छन् । नेपाल आफू प्रधानमन्त्री बन्ने पालो पाउने आसमै रहेका बेला कांग्रेससँगको गठबन्धन टुटेकोमा दुःखी छन् । स्रोतका अनुसार फागुन २६ देखि अहिलेसम्म देउवा–नेपालबीच कम्तीमा चारपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ ।

एमाले र माओवादीलाई बाहिर राखेर बाँकी सम्भव भएसम्मका सबै शक्ति एक ठाउँमा उभिने गरी उनीहरुबीच छलफल भइरहेको छ । एकीकृत समाजवादीसँग संघीय संसदमा १० सांसद छन् । माओवादीका ३२ सिट मात्र हुँदा पनि प्रचण्ड यतिका समय प्रधानमन्त्री हुने, आफू १० सिटको मालिक हुँदा पनि एक छिनलाई प्रधानमन्त्री हुन किन नपाउने भन्दै हिँडैका छन् अहिले माधव नेपाल ।

बागमती, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सो पार्टी सरकार बनाउन र टिकाउन आफ्नो पार्टी निर्णायक रहेको भनेर पनि उनले आफ्ना लागि बार्गेनिङ गरिरहेका छन् । एकीकृत समाजवादीले साथ छाड्ने हो भने कम्तीमा चार प्रदेशको सरकार ढल्न सक्छ र गठबन्धन दुर्घटनामा पर्छ भनेर उनी धम्क्याइरहेका छन् । आफूले प्रधानमन्त्री बन्न पाउने हो भने प्रदेशमा कुनै दाबी नगर्ने भनेर पनि उनले देउवासमक्ष सर्तनामा गरेका छन् ।

यति मात्र होइन माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना र त्यसका संवैधानिक सुनिश्चिताबारे राष्ट्रपतिसम्मै छलफल गर्न पुगेका थिए । अब आफू सरकारबाट बाहिरिएपछि जसपा पनि बाहिरिने उनको बुझाइ छ । यति भएपछि यो सरकार दुर्घटनामा पर्छ र त्यसको लाभ आफूलाई पुग्छ भन्ने बुजाइमा उनी छन् । उनको यो लोभ र सक्रियताले प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउँछ र आफैलाई दुर्घटनामा धकेल्छन् । आउँदो बजेट अधिवेशनमा यसको नतिजा देखिनेछ ।