नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, बाँकी आठै जनालाई सफाइ

काठमाडौं, ७ वैशाख । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचर मुद्दामा दोषी ठहर भएका छन् । ६ महिना अघि दायर मुद्दामा विशेषले उनीमाथि कसूर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । 

नेसनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका अन्य आठ जनाले भने सफाइ पाएका छन् । जसमा तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रणिता उपाध्यायलगायत छन् । 

शुक्रबार विशेष अदालतले यस मुद्दामा यस्तो फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय सुनाउन २५ वैशाखको पेसी तोकेको विशेषले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज २०८० मा मुद्दा चलाएको थियो । गेटवे प्रकरणमा झन्डै २५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारको थियो । 

पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशकसमेत हुन् । ६ वर्षअघि खरिद गरिएको पेमेन्ट गेटवे हालसम्म प्रयोगमा आउन सकेको छैन ।