धादिङ ट्रक दुर्घटना : मृतक बालकको सनाखत

धादिङको निलकण्ठमा आइतबार ट्रक दुर्घटनामा मृत्यु भएका बालकको पहिचान खुलेको छ। 

दुर्घटनामा मृत्यु हुनेमा १० बर्षीय  बालक सन्तोष रम्तेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको पहिचान भएको छ। घाइते हुनेमा ट्रक चालक ३५ वर्षीय विष्णु सिर्मलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

यस्तै, ट्रकमा सवार १३ बर्षीय कृष्ण रम्तेल र १४ बर्षीय सुदीप मजरकोटीको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा मृतक सन्तोष रम्तेलका बुवा ४० बर्षीय राम रम्तेल, ३५ बर्षीय हिरा रम्तेल, ११ बर्षीय सुजन रम्तेल, १० बर्षिय प्रितम मजरकोटी र १० बर्षीय बिमल मजरकोटीको अवस्था सामान्य रहेको मिश्रले बताए।

सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौँ रिफर गरिएको छ। 

उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।