भारतको नैनीताल दुर्घटना अपडेट : मृत्यु हुने नेपालीकाे खुल्यो पहिचान

काठमाडाैँ। भारतमा दुर्घटनामा मृत्यु भएका सात नेपालीको पहिचान खुलेको छ । भारतको उत्तरी राज्यस्थित बेतालघाटनजिकै भएको सडक दुर्घटनामा परेर मृत्यु भएका ७ जनामध्ये बाँकेका ६ जना र एकजना बर्दिया जिल्लाका रहेका छन् ।

भारतको नैनीतालस्थित खानेपानी आयोजनामा पाइप बिछ्याउने मजदुरी गरेर घर फर्कने क्रममा सडक दुर्घटनामा परी उनीहरु चढेको पिकअप भ्यान दुर्घटनामा सोमबार राति दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नं ८ फत्तेपुर टिटिहिरियाका ४५ वर्षीय धिरज थारु, ५५ वर्षीय उदयराम थारु, ५० वर्षीय विश्राम थारु, सोही वडाको थपुवा गाउँका ५१ वर्षीय तिलकराम थारु, ४२ वर्षीय अन्तराम थारु, ४२ वर्षीय बिनोद थारु रहेको भारतीय प्रहरीलाई उदृत गर्दैै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही घटनामा परेर बाँके बैजनाथ ८ थपुवाकै ४२ वर्षीया शान्ति भन्ने लौटी थारु र दशरथ थारु गम्भीर घाइते भएका छन् । बेतालघाटबाट टनकपुर हुँदै नेपाल फर्कने क्रममा भएको सडक दुर्घटना मंगलबार दिउँसोमात्र जानकारीमा आएको थियो ।

घटनाको जानकारी आउनेबित्तिकै प्रहरी परिचालित गरी यकिन पत्ता लगाउने काम भईरहेको प्रजिअ पोखरेलले बताए । घटनाको जानकारी पाउनेवित्तिकै फत्तेपुर र थपुवा गाउँ शोकमा डुवेको छ ।

यस्तै,सोही घटनामा बर्दियाका ६० वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको र हर्क दमाई र प्रेम बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।