तारकेश्वर खाजाघरमा नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक युवती पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित युना खाजाघरमा नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका-१ घर भएर काठमाडौंको तारकेश्वर बस्ने २६ वर्षीया मुनु गुरुङ छिन्। उनलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्र फुयाँलले बताए।

खाजाघरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ। आरोपीविरुद्ध मानव बेजबिखन तथा ओसारपसार मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी फुयाँलले जानकारी दिए।

अनुसन्धानबाट खुल्न आएका तथ्यहरु:-
-अभियुक्तले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका नाबालिकाहरुलाई खाजा घरमा वेट्रेसको रुपमा काम लगाइदिने भनी बोलाउने गरेको,

-सुरुमा बालिकाहरुलाई वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी निज अभियुक्तले नै संचालन गर्ने पश्चिम युना खाजा घरमा राखि देश्यावृत्तिमा लगाउने गरेको,

-नाबालिकाहरुलाई बिभिन्न प्रलोभनमा पारी धाकधम्की समेत दिई ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवती तथा नाबालिकाहरूलाई दिई आर्थिक लाभ लिने गरेको,

-नाबालिकाहरुलाई ग्राहकहरुले बोलाएको अन्य गेष्ट हाउस तथा होटलहरुमा समेत जान बाध्य पारी बेश्याबृतिमा लगाउने गरेको खुल्न आएको,

-अभियुक्तद्धारा संचालित खाजा घरका कोठाहरु खानतलासी गर्दा परिवार नियोजनका अस्थायी साधन (कण्डम)समेत बरामद भएको