वाइडबडी प्रकरणमा मुछिएका ३२ जना काे काे हुन?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे। त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष एवं पर्यटन सचिव शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कांग्रेस नेता शाही अहिले कर्णाली प्रदेशसभा संसदीय दलका नेता छन् । उनीविरुद्ध मुद्दा दायर भएसँगै उनी प्रदेशसभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै  ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे।

 ३२ जना मुछिँदा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का मात्रै सात जना उच्च अधिकारी परेका छन् । जसमा नायब महाप्रबन्धक जनकराज कालाखेती, निर्देशक उपेन्द्र पौडेल, श्रवण रिजाल, उमेश पौडेल र उपनिर्देशक बृहतमान तुलाधर रहेका छन् भने वरिष्ठ क्याप्टेन सुवास रिजाल र रवीन्द्रकुमार शेरचन पनि रहेका छन् ।

निगमले यो प्रक्रिया २०७३ सालमा अघि बढाएको थियो। निगमले दुई वटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाएको थियो, तर खरिद गरेलगत्तै विवादमा पर्न थाल्यो। खरिद प्रक्रिया नै अपारदर्शी भएको भन्दै विरोध भयो।

वाइडबडी जहाज खरिद गर्दा निगमलाई नोक्सान हुने गरी काम गरेको आरोप उनीहरूमाथि आरोप छ । अख्तियारले त्यो प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ हानि नोक्सानी भएको निष्कर्ष निकालेको छ । संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो ।


कुन कुन कम्पनी छन्?

अख्तियारले वाइडबडी विमान खरिद प्रकरणमा जोडिएका पाँच कम्पनी र तिनका प्रतिनिधिहरूविरुद्ध  पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। ती कम्पनी यस प्रकार छन् :

१) निगमसँग सुरुमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसन र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस

२) जर्मनीको जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक आना टोपा

३) पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोज र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरी

४) आयरल्यान्डको हाइफ्लाई एक्स, उक्त कम्पनीका निर्देशकहरू गेराल्ड थ्रोन्टन र क्रिस्चियन न्ह्युलेन

५) नर्टन रोज फुलब्राइट जर्मनी र कम्पनीका उड्डयन विभाग प्रमुख मार्कुस र्‍याडब्रुच र वरिष्ठ परामर्शदाता राल्फ स्प्रिंगर

भ्रष्टाचार आरोप लागेका ३३ जनाको नामावली

जीवनबहादुर शाही
सुगतरत्न कंसाकार
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
बुद्धिसागर लामिछाने
टेकनाथ आचार्य
निमा नुरु शेर्पा
मुक्तिराम पाण्डे
जीवनप्रकाश सिटौला
अच्युतराज पहाडी
रामहरि शर्मा सेढाँई
जनकराज कालाखेती
प्रभाश कुमार कर्माचार्य
गणेश बहादुर चन्द
कर्णबहादुर थापा
सुवास रिजाल
रमेशबहादुर शाह
रवीन्द्रकुमार शेरचन
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
श्रवण रिजाल
पारस पौडेल
उमेश पौडेल
बृहतमान तुलाधर

विदेशीहरू

दीपक शर्मा
राल्फ स्पिंगर
मार्कुस राडब्रुच
जेराल्ड फोर्नटन
पाउलो मिरपुरी
अना टोपा
जोन एम होल्मस
ओलेग कालिस्त्रु
क्रिस्चियन न्युलन