गगन थापाप्रति रवि लामिछानेको आक्रोशको पारोः काठमाडौँ–४ मै उत्रिने चुनौती

दुई युवा नेताहरु गगन थापा र रवि लामिछानेबीचको आरोप–प्रत्यारोप आक्रामक मोडमा पुगेको छ । एकअर्काविरुद्ध सम्पूर्ण शक्तिका साथ उनीहरु उत्रिएका छन् ।

गत २०७९ को चुनावमा काठमाडौँ–४ बाट गगनलाई सघाउन भएका एकजना रास्वपाका उम्मेदवार पनि फिर्ता गर्ने रवि अहिले गगन थापाको काठमाडौँ–४ मै उत्रिने धम्की दिइरहेका छन् । यो उनको आत्मविश्वास हो कि आत्माभिमान ? त्योचाहिँ बहसकै विषय छ ।

रविले गगनलाई लक्षित गरेर शनिबार राजधानीमा एक कार्यक्रम नै गरे । पार्टीको उच्च तहको एउटा पंक्ति नै गगनविरुद्ध उतारे । पूर्वकांग्रेस नेता स्वर्णिम वाग्ले र काठमाडौँकै रैथाने नेता विराज महर्जनलाई पनि गगनविरुद्ध विषवमन गर्न लगाए । 

रविले गगनको नाम लिएनन् । तर आक्रमणको सम्पूर्ण तारो गगनलाई बनाए । यसअघि गगनले सदन र बाहिर रविमाथि आरोपित गर्न जेजस्ता पदावली प्रयोग गर्थे, ती प्रत्येकको जवाफ रवि र उनका सहयोगीहरूले दिएका छन् ।

रविले दिनभर कार्यक्रममा बोलेर मात्र पुगेन । साँझपख लेखेरै पनि सामाजिक सञ्जाल रंगाए । उनले गगनलाई नै संकेत गर्दै भने– प्रिय नेपाली कांग्रेसका नेताज्यूहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दै छु ।  तपाईंको पार्टीले ममाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ । म तिनको जवाफ सदनमा उभिएर दिन चाहन्थें । तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नुभो । प्रधानमन्त्रीको जवाफ पाएपछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ । 

गगनले सहकारी ठगीको प्रसंग सदनमा उठाएका थिए । गगनसँगै सिंगो कांग्रेसको मुद्दा यही बनेको छ । त्यसबारे रविले शनिबार जवाफ दिए–अदालतमा सूर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न  भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ? 

आफूविरुद्ध प्रहरीले उजुरी लिन योग्य नठानेको र ठाडो उजुरी बिनादर्ता कतै राखीछाडेको भनेर समेत उनले खुलाएका छन् । उनले भनेका छन्– तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अवरुद्ध गर्नुपर्ने कारण बारे "एक बहस तो बन्ता है" !

यति मात्र होइन, गगनमाथि स्तरहीन राजनीति गरेको भनेर कडा टिप्पणी समेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– प्रमाण भेटिँदा बालकृष्ण खाँणलाई घरबाट टिपेर लानुहुने तपाईहरुले प्रमाण पाएको भए मलाई यतिका समय, के माया लागेर छोड्नुभएको हो र ? म त प्रतिपक्षमा थिएँ । सक्दो गर्नु भो, केही नलागेपछि स्वार्थको द्वन्द्व  भए पनि सिर्जना गरौ भनेर यो सब प्रपंच गर्नुभो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। यस्तो स्तरहीन राजनीतिले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला ?

उनले कांग्रेस भनेर सम्बोधन गरे पनि गगनलाई नै प्रत्यक्ष लक्षित गरेको भन्ने यहाँनिर देखिन्छ कि जहाँ उनले काठमाडौँ–४ मा बहस गर्न तयार रहेको र लाइभ बहसमा उत्रिन चुनौती दिएका छन् । उनले भनेका छन्–आफूमाथि निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं ? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र  अनुरोध  सहितको अफर  सार्वजनिक गर्दै छु । तपाईंहरुले भनेको दिन, स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं । त्यो बहस काठमाडौ-४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला। यो बहस लाइभ गरौं ता कि सिंगो देशले हेरोस्। सारा देशका अगाडि तपाइहरुले मलाई  ठग प्रमाणित गर्नुहोला। 

यसरी काठमाडौं–४ लाई लक्षित गरेर बहस गरौँ भन्नुको अर्थ अब आउँदो चुनावमा रविले त्यो क्षेत्र गगनका लागि खाली छाड्ने छैनन् भन्ने स्पष्ट भएको । यी दुई एकअर्काविरुद्धको प्रतिद्वन्द्वितामा यतिसम्म पुगिसके कि अब एकले अर्कालाई विस्थापित नगरी आफ्नो राजनीतिक सुरक्षा हुन सक्दैन भनेर कि तँ छैन, कि म छैन भन्ने तहमा उत्रिएको देखिन्छ । त्यसैले देशका अरु क्षेत्रभन्दा काठमाडौँ–४ को मिसन ८४ अहिलेदेखि नै रोचक बन्दै गएको देखिँदै छ ।