प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् ।

 रकम अपचलनको आरोपले प्रहरीले राडी शाखामा अपरेसनल इन्चार्ज रहेका ३१ वर्षीय निरजविक्रम शाहलाई शुक्रबार सार्वजनिक गरेको हो । उनले बखत आठबीसकोट नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेका थिए ।

बैंकमा कार्यरत रहदाँ गत माघ ७, १७ र १९ गते ३ वटा चेकको कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा नगरी अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरी फरार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

गत फागुन ९ गते प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले प्रहरीमा दिएको जाहेरीका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए । शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतबाट गत फागुन १२ गते पक्राउ अनुमती जारी भएपछी जिप्रका बाँकेसँगको समन्वयमा बिहीबार नेपालगञ्ज उप–महानगरपालिका–१५ जमुनाहबाट उनलाई पक्राउ गरिएको हो ।