सुनको मूल्य नेपाली बजारमा फेरि नयाँ कीर्तिमान

काठमाडाैँ। सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ कीर्तिमान बनाएको छ। बिहीबार सुनको मूल्य एकैदिन २ हजार ६ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख २७ हजार ८ सय र तेजाबी सुन १ लाख २७ हजार २ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। बिहीबार चाँदी ३५ रुपैयाँले बढेपछि १ हजार ५ सय ५५ रुपैयाँ पुगेको छ। आजको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। नेपाली बजारमा मात्र नभई विश्वबजारमा समेत सुनको मूल्यले नयाँ उचाइ पाएको एजेन्सीहरुले जनाएका छन्।  

विश्वबजारमा सुनको मूल्य मापन गर्ने गोल्डप्राइसका अनुसार सुन प्रतिऔँस २ हजार २ सय ५ अमेरिकी डलर मूल्यमा कारोबार भइरहेको छ।

उक्त मूल्य पछिल्लो ३० दिनयता १७७.८७ डलर, ६ महिनायता २७८.३८ डलर, १ वर्षयता २३३.९२ डलर, ५ वर्षयता ९०३.१९ डलर र २० वर्षयता १७८६.०४ अमेरिकी डलरले बढेको हो।