भीआईपीमाथि शृंखलाबद्ध कारबाहीः सीआईबी प्रमुख ज्ञवालीको अग्निपरीक्षा

गृह मन्त्रालयको नेतृत्व फेरिनेबित्तिकै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व पनि फेरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृहको कमाण्ड सम्हालेलगत्तै पुराना फाइल खोल्ने र दबाइएका तथा रोकिएका फाइल पनि अगाडि बढाउने घोषणा गरेका थिए ।

ठिक त्यही समयमा सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भयो । गृहमन्त्री लामिछानेले प्रतिवेदन प्राप्त गर्नेबित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफ गरे । प्रचण्ड तुरुन्त मन्त्रिपरिषद बैठक बोलाएर प्रतिवेदन कार्यान्वयनको निर्णय गरे । त्यही बैठकबाट सीआईबी प्रमुख किरण वज्राचार्यसहितको टिमलाई हटाउने निर्णय भयो र त्यस ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाइयो ।

ज्ञवाली यसअघि बहुचर्चित नक्कली शरणाथी घोटालाको अनुसन्धान गराउँदा पूर्ववर्ती कांग्रेस नेतृत्वको गठबन्धन सरकारबाट लखेटिएका प्रहरी अधिकारी थिए । उनी सीआईबीमा पुग्नेबित्तिकै केही सन्दिग्ध पदाधिकारीको भागाभाग चलिसकेको छ । आरजु राणा देउवा त्यही दिन अकस्मात् नयाँ दिल्लीतिर उडेकी थिइन् । उनी त्यहीँबाट अमेरिका भाग्न सक्ने र लामो समय त्यतै रहन सक्ने उनीनिकट स्रोतले बताएको छ । यसरी भाग्न सक्नेहरुका पासपोर्ट जफत गरी रोक्ने र निगरानी बढाउने, अनि ठूला संगठित अपराधमा जोडिएका अन्य विभिन्न व्यक्तिलाई क्रमशः कारबाहीको दायरामा ल्याउने चुनौती सीआईबीको नयाँ नेतृत्वसमक्ष छ ।          

जाँचबुझ आयोगले वज्राचार्यसहितका प्रहरी अधिकारीमाथि अनुसन्धान गर्नुपर्ने सिफारिस गरेको छ । उनीहरुले सुन तस्करीको अनुसन्धान गर्दा निष्पक्षता र विश्वसनीयता कायम गर्न नसकेको र गम्भीरता पनि नदेखाएको प्रतिवेदनमा उल्लेख छ । सोही सिफारिसका आधारमा उनीहरुमाथि सरकारले थप कारबाही पनि गर्न सक्नेछ । 

सर्वेन्द्र खनालसहित पूर्वप्रहरी प्रमुखहरुका बारेमा पनि महत्त्वपूर्ण सुराक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले उनीहरुलाई निगरानीमा राख्न भनिए पनि त्यसैलाई जाहेरीका रुपमा ग्रहण गरेर सीआईबीले अनुसन्धान अगाडि बढाउन सक्छ । आफ्नै संगठनका पूर्वप्रमुखमाथिको कारबाही कसरी अगाडि बढाउँछन् ? सीआईबी प्रमुख ज्ञवालीको यो अग्निपरीक्षा हो । 

सोमबार मात्र सीआईबीले माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालार्ई नियन्त्रणमा लिएको छ । यसले धेरै भीआईभीहरुको हंशले ठाउँ छाडेको छ । महरामाथि सुन प्रकरणको छानबिन अघि बढ्दै छ । आयोगकै प्रतिवेदनको आधारमा महरा पक्राउ परेका हुन् । अब सुन प्रकरणको छानबिनलाई पूर्णता दिन झलकराम अधिकारी, अरुणकुमार पोखरेललगायतका व्यक्तिहरु पक्राउ गर्नुपर्नेछ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठको इशारामा वज्राचार्यले महरालगायत माओवादी नेता तथा कार्यकर्तालाई जोगाएको आरोप लागेको थियो । राजनीतिक नेतृत्वको दबाबमा पर्दा घानमा वज्राचार्यसहितका प्रहरी अधिकारी परेका छन् । यो घटना पनि ज्ञवालीसहितका प्रहरी अधिकारीका लागि ठूलो पाठ हो ।

किनभने, राजनीतिक नेतृत्वले अनुसन्धान गर्ने निकायलाई अनुचित दबाब दिन सक्छ । प्रभावमा पार्न सक्छ । दुरुपयोग गर्न सक्छ । तर, भोलि कारबाही भोग्नुपर्नेचाहिँ अनुसन्धान गर्ने निकायका अधिकारी हुन्छन् । तसर्थ, जस्तासुकै दबाब र प्रभावमा नपरी आफ्नो व्यावसायिक क्षमता र मूल्य मान्यताको घेराभित्र रहेर सक्षमता प्रदर्शन गर्न सक्नुपर्नेछ ।