यही वर्ष २ लाख पुग्नसक्छ सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यले दिनप्रतिदिन रेकर्ड कायम गर्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार कायम भएको छ । 

जुन हालसम्मकै बढी हो । शुक्रबार यो मूल्य १ लाख २५ हजार रुपैयाँ बराबर थियो । यसरी दिनप्रतिदिन मूल्य बढ्दै जाँदा सुन पसलहरुमा सुन किन्नेको संख्या पातलिँदै गएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य अहिले बजारमा दिनको करिब १० किलो सुन मात्रै बिक्री हुँदै आएको बताउँछन् । 

यो वर्ष सिजनमासमेत सुनको बिक्री २० किलोभन्दा माथि नपुगेको उनको भनाइ छ ।अघिल्ला वर्षहरुमा सुनको माग दैनिक ३० देखि ३५ किलोग्रासम्म हुने गरेको थियो । विदेशी मुद्रा सञ्चितिको संकटका कारण सरकारले यसमा परिमाणात्मक बन्देज लगाउँदै आएको थियो । 

यो वर्ष पनि त्यो बन्देज कायमै छ । तर २० किलोको तोकिएको परिमाणभन्दा पनि कम बिक्री हुने अवस्था रहेको महासंघको भनाइ छ ।

सुनको मूल्यमा हुँदै आएको वृद्धि तथा अन्र्तष्ट्रिय बजारको मागमा हुँदै आएको वृद्धि समेत घट्ने अवस्था नभएका कारण बजारमा सुनको मूल्य आगामी दिनमा थप बढ्दै जाने महासंघको प्रक्षेपण छ । 

अहिले सुनको मूल्य प्रतिऔंस २१७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य सन् २०२४ भित्रै ३००० पुग्नसक्ने महासंघको अनुमान छ । 

महासंघका अध्यक्ष शाक्य यो अवस्था आउँदा सुनको मूल्य यो वर्षको अन्त्यसम्ममा २ लाख रुपैयाँसम्म पुग्न सक्ने बताउँछन् । शाक्य भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ३ हजार डलर पुग्दा नेपालमा एक तोलाको २ लाखसम्म पुग्नसक्छ । यही वर्षको अन्त्यसम्ममा मूल्य त्यो तहमा पुग्छ कि भन्ने हाम्रो अनुमान छ ।’

नेपालमा हाल आम सर्वसाधारणले काँचो सुनमा लगानी गर्न पाउँदैनन् । गहना बनाएर मात्रै होल्ड गर्न पाउने भएकोले नेपालमा लगानीका लागि सुनको माग नहुने उनको भनाइ छ । डिजाइनमा हुने परिवर्तनका कारण गहनामा समेत ठूलो लगानी गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।