माओवादीसामु किन लत्रिरहेको छ कांग्रेस ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार साँझ केही पदाधिकारीको समूहलाई आफ्नो निवासमा बोलाए  र मन्त्रिपरिषदमा हेरेफेर गर्नैपर्ने बाध्यता आइलागेको भन्दै लाचारी प्रस्तुत गरे ।

बुढानीलकण्ठस्थित निवासमा उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासामु यो लाचारी प्रस्तुत गरेका हुन् ।

आफूले अहिले नै मन्त्री फेर्ने नहुने अडान राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल फेरिहाल्ने पक्षमा रहेकाले अब रोक्न नसक्ने देउवाको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले भनिसकेपछि आफूले केही गर्न नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको यो भनाइले १५ महिना मन्त्री पद खाइसकेका खड्का र गुरुङ निन्याउरा देखिए । अझ गुरुङका लागि त न यो पद अपेक्षित थियो, न भविष्यका निम्ति सम्भव नै । त्यसैले उनले यसपालि मौका यही हो भन्ने शैलीमा अनेक ताण्डव देखाउन पनि भ्याए । उनीजस्तै अरु मन्त्रीहरुका हकमा पनि लगभग त्यही हो । 

देउवाको लाचारी यतिमै सकिएन । अब अर्थ मन्त्रालय पनि माओवादीलाई नै सुम्पिनुपर्ने बाध्यता आइलागेको उनले सुनाएका छन् । प्रकाशशरण महतलाई लगानी सम्मेलनसम्मका लागि कायमै राख्न खोजे पनि प्रचण्डले सबै मन्त्रीको सेट अहिले नै परिवर्तन गर्न चाहेको उनको भनाइ थियो । अब देउवाले त्यो पनि प्रचण्डकै जिम्मा छाडिदिएका छन् ।

यसको केही दिनअघि माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो पार्टीको नहुने हो भने गठबन्धन बदल्नेसम्मको धम्की दिएको थियो । भविष्यमा आफ्नो पार्टी संवैधानिक परिषद्मा उपस्थितिविहीन हुने भएकाले अहिले नै राष्ट्रिय सभाको अध्यक्ष आफूले पाउनुपर्ने माओवादीको तर्क छ । त्यसैले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय माओवादीले गरेको छ । 

गठबन्धनमा सल्लाह नै नगरी सत्ताको नेतृत्वकर्ता दलले एकतर्फी रुपमा यसरी उम्मेदवारी दर्ताको घोषणा गर्नुजस्तो अर्घेलो कदम अर्को के हुन सक्ला ? तर यहाँ माओवादीका सामु कांग्रेस यसरी लत्रिएको छ कि शिर ठाडो पारेर आँखामा आँखा जुधाएर हेर्न पनि सकिरहेको छैन । देउवा त प्रचण्डको इसारामा उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने अवस्थामा छन् । 

यहाँ अब संसदमा कांग्रेस र माओवादीमा कसको आकार र संख्या केकति हो भन्ने कुरा गौण भइसक्यो । कसले कति मतको प्रतिनिधित्व गर्छन् भन्ने पनि गणनायोग्य रहेन । कुन पार्टीको इतिहास र मताधार के हो भन्ने पनि अब छलफलको विषय रहेन ।

देउवाका निम्ति अब प्रचण्डले किस्तीमा राखेर प्रधानमन्त्रीको पद हस्तान्तरण गर्छन् कि गर्दैनन् भन्ने मात्र मूल कुरा बन्न पुगेको छ । कतिखेर प्रचण्डले देलान् र आफू खान पाइएला भनेर देउवाले मुख मिठ्याएर बसेका छन् । देउवाको त्यही कमजोरीमा रहेर प्रचण्डले सारा शासन संयन्त्रमा आफ्ना फणा फिजाएका छन् । कांग्रेसलाई दबाबमा राखेका छन् । कांग्रेसलाई आफ्नो कान्छी औँलामा नचाएका छन् । 

कतिसम्म भने कांग्रेसकै मत पाएर राष्ट्रिय सभामा माओवादी पहिलो दल बनेको छ । उही कांग्रेससँग म पहिलो दल हुँ बुझिस् भन्दै दादागिरि देखाइरहेको छ । देउवा मुखैमा आएको प्रधानमन्त्री पद फुत्किहाल्छ कि भनेर निरीह बनेर त्वं शरणम् गर्छन् । कठै, त्यो बीपी र गिरिजाप्रसादले नेतृत्व गरेको कांग्रेस यही हो त भन्नुपर्ने पो अवस्था आएको छ ।