पर्यटन पायोनियर सेर्पाको आत्मकथाः हिम्बु अर्थात् हिमालको छोरा

नेपालको पर्यटन व्यवसाय एवं पर्वतारोहणमा पायोनियर परिवारका एक सदस्य हुन्, ल्हाक्पा सोनाम सेर्पा । थामसेर्कु ट्रेकिङ र यती समूहका संस्थापकका रूपमा उनले मुलुकको पर्यटन व्यवसायमा योगदान गरिरहेका छन् । यही समूहले बर्सेनि लाखौँ स्तरीय विदेशी पर्यटक भित्र्याएर देशको अर्थतन्त्रलाई ठूलो टेवा दिएको छ । हिमाल र सेर्पाको ब्रान्डिङ गर्ने अगुवा यही समूह हो। 

यसै परिवारबाट पासाङ ल्हामु सेर्पाले सगरमाथा आरोहण गरेकी थिइन्। जसलाई आज पनि नेपाली साहसिक नारीको प्रतिमूर्ति मानेर देशविदेशमा स्मरण गरिन्छ । आङ छिरिङ सेर्पाले त्यस्तै कुशल व्यावसायिक कौशलका कारण बेग्लै छाप छाडेर गएका छन् । 

सोनामकी धर्मपत्नी पासाङ ल्हामु र भाइ आङ छिरिङ आज हामीसामु छैनन् तर उनीहरुको योगदान देशले युग युगान्तरसम्म सम्झिरहनेछ । उनीहरुको योगदानसमेत समेटेर सोनामले आत्मकथा हिम्बु प्रकाशनमा ल्याएका छन् । पुस्तकको आइतबार एक कार्यक्रममाझ काठमाडौंमा लोकपर्ण गरियो । सास ट्रष्टद्वारा प्रकाशित उक्त पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गरेका हुन्।

पुस्तकमा विभिन्न ३३ वटा शीर्षकमा लेखक सेर्पाका जीवनीमा आधारित विविध संस्मरणहरु समेटिएका छन् । उनले नेपालको पर्यटन क्षेत्रमा बिताएका ५० वर्षको अवधिका भोगाइ तथा उतारचढाव पुस्तकमा समावेश गरेका छन् ।

सन् १९५३ मा तेन्जिङ नोर्गे सेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा सेर्पा, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन सेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका भूतपूर्व राजदूत डा अर्जुन कार्की, नेपाल सेर्पा संघका अध्यक्ष गेल्जे लामा सेर्पा, विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी दक्षिण एसियाकै पहिलो आरोही बन्न सफल मिङमा सेर्पा र एसियाकै पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ सेर्पाले संयुक्त रुपमा आइतबार पुस्तकको विमोचन गरेका हुन् ।

लेखक ल्हाक्पा सोनाम सेर्पाकी जेठी छोरी तथा स्पेनका लागि नेपालकी पूर्वराजदूत दावाफुटी सेर्पाले स्वागत गरेकी थिइन् भने पुस्तक विमोचन समारोहमा पुस्तकका सम्पादक युवराज नयाँघरेले पुस्तक लेखनका विविध पक्षबारे जानकारी दिए । समीक्षक महेश पौडेलले हिम्बु पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य लगायतले पनि मन्तव्य प्रकट गरेका थिए ।

सोलुखुम्बुको पाङगोम गाँउमा जन्मिएका लेखक सेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौं आई मेस ब्वाईको हैसियतले पर्यटन क्षेत्रमा काम सुरु गरेका थिए । त्यसपछि अन्य काम गर्दै फ्रान्समा स्की सम्बन्धी काम गर्न पुगे । सन् १९८८ मा थामसेर्कु ट्रेकिङ स्थापना गरे । उक्त कम्पनीले १६ वर्षसम्म नेपालको उत्कृष्ट ट्रेकिङ कम्पनीको पुरस्कार पाएको थियो । 

उनी नेपालका प्रसिद्ध यती एयरलाइन्स र तारा एयरका संस्थापक पनि हुन् । हाल विभिन्न जिल्लामा उनका होटलहरु संचालन भैरहेका छन् । लेखक सेर्पाले सन् १९८७ मा थामसेर्कु हिमालको आरोहण गरेका छन् । त्यसपछि अन्य हिमाल पनि चढे । ६० वर्षको उमेरपछि विश्वका सातवटा महादेशमा रहेका सबै उच्च हिमालको सफल आरोहण गरेका उनले आफ्नो सेभेन समिटको अनुभव सबिस्तार पुस्तकमा उल्लेख गरेका छन् । 

लेखक ल्हाक्पा सोनाम सेर्पाले आगामी दिनमा सास ट्रष्टमार्फत सामाजिक सेवामा क्रियाशील हुदै जाने घोषणा गरेका छन् । हिम्बु पुस्तक बिक्रीबाट संकलित रकम सास ट्रष्टद्वारा संचालन गरिने सामाजिक सेवामा खर्च गरिने उनले बताए । जन्मगाउँको संस्था हयम्बु ठमिछो किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर त्रिपुरा सुन्दरी डोल्पा र घुन्सा फाउन्डेसन ताप्लेजुडलाई एक लाखका दरले प्रदान गर्ने निर्णयसमेत गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।