आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

काठमाडौँ - आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । दिवसका सन्दर्भमा नेपालमा पनि बिहीबार सचेतना, सङ्घर्ष तथा छलफल र बहसका कार्यक्रमहरू हुँदै छन् । 

राष्ट्रिय दलित आयोग, संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र गैरसरकारी संस्था महासङ्घले काठमाडौँमा गर्ने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  प्रदेश र जिल्लाहरूमा पनि विशेष गरी दलित समुदायका सङ्घसंस्था, राजनीतिकर्मी, अभियन्ता र सर्वसाधारणले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन् ।