विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

डुम्रे (तनहुँ), १४ पुस: तनहुँको देवघाट गाउँपालिका–१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा हुनुहुन्छ । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुशी हुनुभएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा आइनपुग्दा चिन्तामा हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “बिजुलीको उज्यालोमा बस्ने रहर रहरमै सीमित हुनेभयो, छोरा नातिका पालामा पनि आउने छाँटकाँट देखिँदैन, बल्ल खम्बा गाडिँदैछन्, कहिले आउँछ खै ? त्यहीमाथि काम पनि छिटो गरिएको देखिँदैन, अहिले बिजुलीको प्रयोग गरेर मात्रै धेरै काम गर्ने चलन आएको छ, तर हामी भने उज्यालोमा बस्ने रहरमै रहेका छौँ ।”

उहाँले गाउँका घरमा सौर्य ऊर्जा जडान भएको तर घाम अस्ताएपछि समस्या रहेको बताउनुभयो । आजकाल मोबाइल चार्ज गर्नसम्म सजिलो भएको उहाँ बताउनुहुन्छ । त्यस्तै देवघाट–२ जरमका जमुना थापा भन्नुहुन्छ, “दसैँमा नै बत्ती आउँछ भनेको थियो, तार नै आइपुगेन र बत्ती बलेन, सोलारको बत्तीले घरको काममा सजिलो भएको छ, खम्बा ठडिएको छ, तार आइपुगेकै छैन, अझैसम्म पनि खै कहिले आउँछ ?” 

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले हालसम्म पालिकाका सबै वडामा पूर्ण रुपमा विद्युतीकरण नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाका पाँच वडामा नै पूरै स्थानमा विद्युतीकरण भएको छैन, चालु वर्षमा नै पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” 

ठेकेदारले खम्बा गाड्न खाल्डो खन्ने काम ढिलाइ गर्नाका साथै तार पनि आइनपुग्दा विद्युतीकरणमा अझ ढिलाइ भएको उहाँको भनाइ छ । देवघाटका पाँच वटै वडामा पूर्णरुपमा विद्युतीकरण नभएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँका अझै करिब पाँच सय घरधुरीमा विद्युत् नपुगेको उहाँले बताउनुभयो । 

देवघाट विश्वमा परिचित भए पनि यहाँको विकासले भने गति लिन सकेको छैन । यहाँको विकासका लागि मोटरेवल पुल नहुँदा नै मुख्य समस्या बनेको अध्यक्ष थापाको गुनासो छ । उहाँले भन्नुभयो, “पालिकाको बजेटले ठूला योजनाका पूर्वाधार विकास गर्न सक्दैन, देशको नै समस्याका रुपमा लिएर विकास गर्न सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन, यसतर्फ सङ्घीय र प्रदेश सरकारले पनि प्राथमिकता दिनुपर्छ ।

देवघाटको विकसित मानिएको ५ नं वडामा समेत पूर्ण रुपमा विद्युत् पुगेको छैन । त्यस्तै १, २, ३ र ४ नं वडामा विद्युतीकरण भएको छैन । यस पालिकामा विद्युतीकरणका लागि तार तान्ने तथा खम्बा गाड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा नै यस पालिकामा पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।” देवघाटमा विद्युत् पुग्नासाथ तनहुँ जिल्ला नै पूर्ण रुपमा उज्यालो जिल्ला बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानमा बिग्रने, खम्बामा समस्या आउनु सामान्य हुन्, तर देवघाटका पाँच वडामा विद्युतीकरण हुनासाथ तनहुँ पूर्ण रुपमा बिजुली पुगेको जिल्ला बन्छ ।” 

चालु आर्थिक वर्षको असार मसान्तसम्म पालिकाको ग्रामीण वडामा पूर्ण रुपमा बिजुली पुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार हालसम्म तीन वितरण केन्द्रमार्फत तनहुँमा विद्युत् प्रवाह भइरहेको छ । दमौली वितरण केन्द्रमार्फत ३२ हजार एक सय ५२, डुम्रे वितरण केन्द्रबाट १३ हजार एक सय ६४ र आँबुखैरेनी वितरण केन्द्रबाट पाँच हजार छ सय ६४ गरी तनहुँका कूल ५० हजार नौ सय ८० ग्राहकले विद्युत् उपभोग गरिरहेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठका अनुसार दमौली वितरण केन्द्रका दुई चार सय ७४, डुम्रे वितरण केन्द्रका दुई हजार ६२ र आँबुखैरेनी वितरण केन्द्रका सात सय ६१ ग्राहकले बक्यौता तिर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार पाँच हजार दुई सय ९७ ग्राहकको रु दुई करोड ७० लाख ५८ हजार दुई ५२ विद्युत् महसुल बक्यौता रहेको छ । बक्यौता उठाउन ताकेता भइरहेको उहाँले बताउनुभयो । 

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास