१९ वर्षपछि सुदन किराती‘युथ’ विहीन र ‘टुथ’ विहीन गाउँ पुग्दा...
काठमाडाैँ। पुर्खाहरूको भनाइमा १२ वर्षमा खोला फर्किन्छ । सात वर्ष थपेर म १९ वर्षपछि गाउँ फर्किएँ । लगभग दुई दशकमा धेरै परिवर्तन भएछ । एउटै कुरा परिवर्तन भएनछ- मेरो मन । त्यही मन बोकेर म त्यो गाउँमा पुगेँ । प्रकृति उही थियो, पात्रहरू फेरिएका थिए ।
ऊ बेलाका केटाकेटीहरू ठुला भएर गाउँ छाडिसकेका रहेछन् । मैले देखेका ठुलाहरूले यो धर्ती छाडिसकेका रहेछन् । त्यो गाउँमा २०६१ सालमा म ‘शिखर’ भएर पुगेको थिएँ, अहिले ‘सुदन’ भएपछि पुगेँ । धेरै कुरा बदलिएछ, म पनि नाम बदलेर पुगेछु ।
कवि सिद्धिचरण श्रेष्ठको लागि मात्र हैन, मेरो लागि पनि ओखलढुङ्गा औधी प्यारो छ । यद्यपि मेरो र कविज्यूको ‘प्यारो ओखलढुङ्गा’मा निकै अन्तर छ । सायद मैले भोगेजस्तो जीवन जिउनुभा भए युगकविको कविता बेग्लै हुन्थ्यो।
‘त्यो ओखलढुङ्गा’को प्यारले मलाई मन्त्री भएपछि पनि चुम्बकले झैँ तानिरह्यो । हजारौँ–लाखौँ पाइलाहरू ओखलढुङ्गा पुगिसके, मेरो पाइला पुर्याउन सकेको थिइनँ ।अहिले झलझली सम्झन्छु, ती दिनहरू । प्यारो गाउँ खाल्टेमा बिताएका ती क्षणहरू ।
दसैँ भर्खरै सकिएको थियो । तिहार नजिकै आउँदै थियो । लामो वर्षापछि बादल फाटेर आकाश सफा थियो । मौसमको मादकता थियो । मलाई महिनाहरूमा असोज-कात्तिक औधी मन पर्छ । हो, त्यही समयमा मुक्तिको खातिर मृत्युको भयलाई जितेर हामीजस्ता हजारौँ युवा जनयुद्धमा लामबद्ध भएका थिए । म पनि त्यसमै पङ्क्तिबद्ध भएर हिँडिरहेको थिएँ ।
सम्झन्छु, सिन्धुलीको मुल्कोटपारि रातमाटे डाँडाबाट चामलको भारी बोकेर हिँड्दै गएको । अहिले त कालोपत्रे सडक ‘बिपी राजमार्ग’ बनेर गाडी गुड्छ । तल बग्ने सुनकोशी नदी र विभिन्न आकृतिमा सजिएको माटोको थुम्कामाथि मान्छेहरू सेल्फी खिच्छन् । त्यो बेला त्यस्तो थिएन । एकदम उराठलाग्दो देखिन्थ्यो । झट्ट हेर्दा विधवा जस्तो । त्यही बाटो भएर हामी ओखलढुङ्गातर्फ लागेका थियौँ । भोक-तिर्खासरि भएर त्यो बाटो हिँडेको क्षण अहिले पनि गाडीबाट त्यहाँ पुग्दा ताजा भएर आउँछ ।
ओखलढुङ्गाको खाल्टे गाउँ जहाँ शतप्रतिशत मगर समुदायको बस्ती थियो । म केही समय त्यहाँ बसेँ । धनको गरिबीले सताए पनि मनको भने धनी थियो । त्यो गाउँ मेरो जीवनको एक विश्वविद्यालय जस्तै भयो ।
तिहारको माहौलसँगै मैले देउसी-भैलो खेल्ने टोली बनाएँ । सानो सांस्कृतिक माहौल तयार भयो । त्यही मौका छोपेर मैले ठुलो पोखरी निर्माण गरी त हालेँ । एउटा छापामारको लागि जनता त माछाको लागि पानी जस्तै हो । जनता र मेरो सम्बन्ध साँच्चिकै माछी र पानी जस्तै हुँदै गयो ।
आमा भन्नुहुन्थ्यो, “आफू भलो त जगतै भलो ।” म ‘भलो’ थिएँ कि थिइनँ, थाहा छैन । तर, त्यो ‘जगत’लाई मैले ‘भलो’ नै पाएँ ।
सुरुमा आफू बस्ने घर-परिवारसँग नङ र मासुको सम्बन्ध बनाएँ । बिस्तारै गाउँभरि फैलिँदै गयो सम्बन्ध । लिखु नदीको किनारबाट जनतासँग धान र पराल बोकेँ । लिखुमा माछा मारेँ । हलो जोतेँ । डल्ला फोरेँ । खोलाबाट काठ बोकेँ । बारीभरि मल बोकेँ । कोदो टिपेँ । मेलोमेलोमा उमेर समूह अनुसार क्रान्तिकारी कथा सुनाएँ । त्यसपछि के चाहियो ! मलाई काममा बोलाउन र घरमा राख्न खोसाखोस चल्न थाल्यो । त्यति ठुलो गाउँमा मीठो पाक्दा मेरो भाग छुट्टिन थाल्यो ।
मकैको ढोड बालेर उज्यालो खोज्ने त्यो गाउँको धेरै घरमा मैले फ्याँकिएको ब्याट्रीबाट बत्ती बालेँ ।
त्यो गाउँमा प्राथमिक विद्यालय मात्रै थियो । कहिलेकाहीँ म पनि पढाउँथेँ । सांस्कृतिक टोलीहरू निर्माण गरेँ । झन्डै सय बढी केटाकेटीहरू त्यसमा सहभागी भए ।
बालबालिकाहरू धुलो खेलेर मैलो हुन्थे । गाउँभरिका बालबालिकालाई पल्लोपट्टि खोलामा लगेर पालैपालो नुहाइदिन्थेँ । घाममा लहरै राख्थेँ । लुगा धोएर सफा पारिदिन्थेँ । बेलुकी घर जाँदा बच्चाहरू सफा सुग्घर देखेर बाबुआमा दङ्ग पर्थे ।
यस्ता थुप्रै कुरा यादहरूको सन्दुकमा जीवित छ-
टोलको पुछारमा लिम्बुनी साइँली दिदीको छोरी सुशीला र छोरा निर्मल । माछा मार्न सिपालु भाइ नेत्र । सधैं मसँगै सुत्न खोज्ने भाइ राजेशहरु । राजेश जो ओछ्यानमै सु गर्थ्यो ।
मैले सुनाउने कथा भनेपछि हुरुक्क हुने डाँडाघरे लीला बहिनीको छोरा आशिष भान्जा । मलाई देखेर धेरै लजाउने चन्द्रिका । बिहान नीलो फ्रक लगाएर पढ्न जाने इन्द्रकला र उसका एक हुल साथीहरू । सेती बहिनी, राम्रो नाच्ने दीपा, मादल बजाउँदै गीत गाउने दिदी सोमेको आमा । बालबच्चाहरू । म बसेको घरकी गंगा बहिनी । र, म नाचेको रुपाको बिहे ।
म सरकारी सेना-पुलिसदेखि कसरी जोगिनेभन्दा पनि मलाई कसरी जोगाउने भनेर जनता स्वयं लागिपरे । एक दिन बिहान बुढी आमा र म घरभित्र मकैको रोटी खाँदै थियौँ । बन्दुक भिरेका सेनाहरू आइपुगे । ढोकाबाट मुन्टो छिराएर रुखो स्वरमा भन्यो, “यो केटो को हो ?” आमाले भन्नुभयो, “मेरो नाति ।” बाँच्न कति सजिलो भो ! पानीले माछा लुकाए जस्तै मलाई लुकाउनुभयो ।
मैले ठूल्ठूला मार्क्सवादी किताब र केही क्रान्तिकारी उपन्यास झोलामा बोकेको थिएँ । गाउँदेखि माथि राम्चे डाँडा छ । डाँडाको काखमा सालघारी छ । त्यही जंगलमा बसेर गाउँ हेर्दै पढ्थेँ म ।
बिहे, जन्ति, मलामी सबै भ्याएँ । त्यो गाउँलाई लाग्दथ्यो कि मबिना कुनै पनि काम अधुरो हुन्छ । आखिरी मान्छेको प्यार भनेको बोली र व्यवहार त रहेछ । त्यस बखत मलाई लाग्यो कि गणतन्त्र, लोकतन्त्र, समाजवाद र साम्यवाद जस्ता ठूल्ठूला कुरा सुनाइबस्नुभन्दा पहिला व्यवहारमा बदलेर देखाउन सके, जनतामा भिज्न सके जनता आफै फलामे किल्लामा बदलिन सक्दो रहेछ, मुखले भन्ने कुरा व्यवहारले बुझाउन सक्नु पर्दो रहेछ ।
माघ महिनाको आधाउधि भएको थियो । पार्टीले म फर्किनुपर्ने ‘सर्कुलर’ पठायो । माघको चिसोसँगै गाउँमा सन्नाटा छायो । मेरो मन पनि चिसो न चिसो भएर आयो । हिँड्ने भन्दा अघिल्लो रात पटक्कै निद्रा लागेन । बिहानै पल्लो र वल्लो टोलका गाउँलेहरू आआफ्नै स्थानमा बिदाइ गर्न भेला भएछन् । मान्छेको मन जितेपछि आफै जुट्दै जाँदो रहेछ । पानीले आफ्नो बाटो आफै बनाउँछ भने झैँ जनताले आफ्नो काम आफैँ गर्दो रहेछ ।
भर्खर कोदोको नल काटेको टारबारी भरि गाउँलेहरू भेला भए । फूल उन्दै माला माथिमाथि आउने गरी मलाई लगाइदिन थाले । बालबच्चा, बुढाबुढी सबैले मेरो गोजीमा एक, दुई, पाँच र दशको नोटहरू राखिदिन थाले । ससाना नानीहरू आँसु पुछ्दै मलाई हातमा पैसा हालिदिन्थे । त्यो क्षण साह्रै अनौठो र एकाएक कारुणिक भएर आयो । मैले मनमा एउटै प्रतिज्ञा गरेँ– ‘म बिग्रेको कुरा सुन्न नपरोस्, बरु लड्दालड्दै सहिद भएको खबर यो गाउँले सुनोस् ।’
युद्धको समय थियो । हिँड्नु त थियो नै । पलपल मृत्युको डर हुन्थ्यो । एकएक पल ख्याल गर्नुपर्थ्यो । भारी मन बनाएर गाउँहरूलाई हात हल्लाउँदै हिँडेँ । आँशुको भेलले मलाई रोक्न खोज्यो । पुछ्दै अगाडि बढेँ ।
उता अर्को टोलको डाँडाघरको आँगनमा पनि गाउँलेहरू जम्मा भएका रहेछन् । फेरि त्यसै गरी चल्यो विदावारी । सबै गोजी पैसाले भरियो । गलामा नअटेर माला अँगालोभरि भयो । मलाई लिन आउने साथीहरूले बोक्न सघाउनुभयो । मलाई दही खुवाउँदै एकजना आमाले आशीर्वाद दिँदै हुनुहुन्थ्यो, बलेसीमा उभिएको मेरो आँखा घरभित्र पर्‍यो । भर्याङको फेदमा छोरीचेलीहरु नमिठो रोएको देखेँ । मेरो पनि नजिकै बगिरहेको लिखु जस्तै आँखाबाट आँसु उर्लिन खोज्यो । मैले सोचेँ- ‘अब यहाँ धेरै नबसूँ ।’ जीवनका पलहरू पनि कस्तो कस्तो ! छुट्नुको पीडाले झन् छिटो हिँड्नुपर्ने भो ।
बिदा भएर हामी ओरालो लिखुतिर झर्न थाल्यौँ । सबै दृश्य आँधी झैँ मनमा आइरह्यो । आफूले आफैलाई बिर्सेँ । खालि सम्झिरहेँ गाउँ । पड्किन लागेको बमको फ्युज जस्तै मनमनै सल्किएँ । मलाई पड्किन मन लागिरह्यो । बरु त्यही जनताको अगाडि सेनाको तोपको मोहरीमा पड्किन मन भयो । उनीहरूले हेर्दाहेर्दै फाँसीमा चढ्ने मन भयो । क्रान्तिकारीको लागि बलिदान पनि उत्सव जस्तै हुँदो रहेछ भन्ने महसुस भयो त्यस क्षण ।
लिखु नदीको किनार कार्कीढाडमा एक्लो पिपल थियो । भत्किएको चौतारा र चौतारा जस्तै भत्किएको थियो मेरो मन । हामी तीन जना थियौँ । झोला बिसायौँ र सबै माला खोलेर पिपलको बोटमा राख्यौँ । त्यो मालाको अमूल्य मायाले पटक्कै छाड्ने मन थिएन । तर, जनताको त्यो माया सेना र पुलिसले बुझ्नेवाला थिएन ।
सबै गोजीबाट पैसा निकालेर चिप्लेटी ढुङ्गामा थुपारेँ । एक, दुई, पाँच र दशका थिए । कताकता बीस रुपैयाँको नोट पनि भेटियो । चामलको बियाँ जस्तै पातलो ।
हामी तीन जनाले वरिपरि बसेर गन्न सुरु गर्‍यौँ । जम्मा १,७०७ रुपैयाँ रहेछ । चानचुने पैसा र पुरानो नोटको अग्लो चाङ भयो । झोलाबाट निकालेर पोलिथिन ब्यागमा राख्यौँ । त्यसबाहेक मसँग एक रुपैयाँ थिएन । तैपनि, मलाई जनताको मायाले ओतप्रोत त्यो पैसा मास्न मन लागेन ।
लिखु नदीको किनारैकिनार जनताको माया बोकेर हामी हिँडिरह्यौँ । पाँचौँ दिन हामी सिन्धुली पुग्यौँ । जनताले दिएको पैसा मैले पार्टी हेडक्वार्टरलाई बुझाएँ ।
ओखलढुङ्गाबाट हिँडेको ठिक २७ दिनपछि जनताको पासबाट सेनाको पासमा परेँ । म गिरफ्तार भएँ । अनि सुरु भयो मानव जीवनबाट दानव जीवनको यात्रा ।
०००
यसपालि म त्यो प्यारो गाउँ पुगेँ । नबदलिएको मेरो मन बोकेर । गाउँ त बदलिसकेको रहेछ । त्यो बेला लामो बाटो हिँडेर गाडी चढ्न जिरी जानुपर्थ्यो । अहिले त गाडी घरआँगनमै आउने भएछ । गाडीसँगै ढाड र ढाकरले पनि मुक्ति पाएछ । लिखु खोला तर्न त्यो बेला झोलुङ्गे पुल पनि थिएन । अहिले त पक्की पुलमाथि गाडी गुड्न थालेछ ।
मैले खेलाएका केटाकेटीहरुले गाउँ छाडिसकेछन् । फ्याँकिएको ब्याट्रीबाट बत्ती बालेको गाउँमा झलमल्ल बिजुली पुगेछ । आमाहरूले पिँध्ने जाँतो, कुट्ने ढिकी पनि मिल पुगेसँगै सदाका लागि बिदा भएछ । प्राथमिक विद्यालय अहिले माध्यमिक बनेछ । छाप्रो स्कुल बडाबडा पक्की बनेछ । तर, उतिबेला छाप्रोभित्र भरिभराउ विद्यार्थी थिए, अहिले बिल्डिङ खडा भएपछि रित्तो भएछ !
मान्छे हिँड्न छोडेकोले मैले भारी बिसाउने भदौरे चौतारोको बाटो बिरानो भइगएछ । चौताराको त्यो रूप अहिले बेरूप भएछ । चौतारामा मान्छे हैन, लहरे बरको लहरामय भएछ । रमाइलो राम्चे डाँडा सडक खन्दा डोजरले भत्काएर नरमाइलो देखिएछ । लिखु खोलाबाट धेरै ठाउँमा ‘हाइड्रो पावर’ बनेछन् । हाइड्रो पावरको लागि सुरुङ खनेर पानी भित्र छिराइएछ । लिखु खोला बुलाकी फुकालेको आमा जस्तै असुहाउँदिलो बगर बनेछ । खोलाको सौन्दर्य जो पानीमा हुँदो रहेछ ।
मैले जस्तै त्यो गाउँले पनि मेरो सम्झना उत्तिकै राखेको रहेछ । यसपालि मलाई उत्साह र उमङ्गका साथ भव्य स्वागत गर्नुभयो । बिदाइमा पहिले झैँ आमाबाहरु भावविह्वल हुनुभयो । यसपाला पनि मलाई हातमा पैसा दिनुभयो । उतिबेला चामलको बियाँ जस्तै भएको २० रुपैयाँको नोट अब सामान्य भएछ ।
आँसु उही थियो । सम्झना उही थियो । फरक यति थियो– ‘हामी मरिजान्छौँ, अब कहिल्यै भेट हुँदैन’ भनेर आमाहरू रुनुभयो । उहाँहरूको आँसुले मलाई यसपाला पनि रोकिरहेको थियो । कठोर मनले उतिबेला झै हिँड्नु नै थियो ।
खाल्टेको भूगोल त उही थियो । तर, बाआमाहरु ‘टुथ’ विहिन र गाउँ ‘युथ’ विहिन देखेँ यसपालि । खाल्टे त गौँथलीको गुँड जस्तै भइसकेछ !
१९ वर्षपछि गाउँमा भौतिक विकास त देखियो तर युवाहरू देखिएन किन ? विकासले युवालाई किन गाउँमा अड्याउन सकेन ? हिजो सानै कुरामा खुसी हुने समाज आज यत्रो भौतिक उन्नतिमा पनि किन खुसी हुन सकिरहेको छैन ?
‘विकास’ माथि आजै गम्भीर पुनर्विचार गर्नुपर्ने बेला भइसकेको छ । भोलि त ढिलो भइजाला ।
प्रतिक्रिया