बागमती प्रदेश : बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा दीपक सुवेदी नियुक्त हुनुभएको छ ।

 एघारौँ तहमा बढुवा हुनेमा दीपक सुवेदी, दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्र झा रहनुभएको प्रदेशका उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राससलाई जानकारी दिनुभयो ।

एघारौँ तहमा बढुवा हुनुभएका सुवेदीलाई प्रदेश शिक्षा निर्देशानलयको निर्देशकमा नियुक्ति गरिएको र उहाँलाई सोही कार्यालयमा पदस्थापन पनि गरिएको मन्त्री चित्रकारले जानकारी दिनुभयो । अन्य नियुक्त हुनुभएका एघारौँ तहका अधिकृतलाई केही दिनभित्रै पदस्थापन गरिने  पनि उहाँले बताउनुभयो ।