फेरि विवादमा तानिए गायक प्रकाश सपुत,कम्पनीसहति मागे माफी

निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । चार महिनाअघिको म्युजिक भिडियोलाई लिएर अभिनेता तथा गायक प्रकाश सपुत यतिबेला विवादमा तानिएका छन् ।

जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने भनिएको इनारमाथि उभिएर सपुतले ‘कमाउनी नी हो, रमाउनी नी हो…’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका हुन्।

सो क्लिपमा गायक सपुत मोडल जुना विश्वकर्मासँग बसन्तपुर क्षेत्रमा रहेको कुमारी घर नजिकको मल्लकालीन इनारमाथि चढेर डान्स गरिरहेका छन्। परम्परागत रूपमा जीवित देवी कुमारीको निजी इनारमाथि चढेर भिडियो खिचेको दृश्यका कारण फेरि गायक सपुत विवादित बनेका हुन्।

यो विवादमा सपुतले गल्ती भएको भन्दै माफी पनि मागिसकेका छन् ।उक्त म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले पनि गल्तीप्रति माफी मागेको छ ।उसले उक्त दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको दावी गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘सामाजिक संजालमा देखाइएकोजस्तो दृश्य हाम्रो च्यानलमा रहेको आधिकारिक भिडियोमा प्रयोग नभएको कुरा समेत जानकारी गराउँदछौं । हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अन्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भए हामी क्षमाप्रार्थी छौं ।’