निसान कम्पनीका पूर्व प्रमुख घोसनलाई बेरुतस्थित घर छोड्न आदेश

लेबनानको एक अदालतले आरामदायी कार उत्पादकको पर्याय बनेको निसान कम्पनीका पूर्वप्रमुख कार्लोस  घोसनलाई लेबनानस्थित ‘उहाँको भनिएको’ विलासी घरबाट निकाल्न आदेश दिएको छ । 

सन् २०१९ मा जापानबाट भागेर बेरुतको घरमा बसोबास गरेका घोसनले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गर्नुभएको छ ।  एएफपीलाई प्राप्त अक्टोबर १६ मा गरिएको निर्णयको प्रतिलिपि अनुसार, घोसन र उहाँकी पत्नीले ‘एक महिनाभित्र घर खाली गर्नुपर्छ’। 

लेबनानको राजधानीको अशरफीह क्षेत्रमा गुलाबी पर्खाल भएको उक्त घरको मूल्य करिब एक करोड ९० लाख अमेरिकी डलर रहेको र यो लेबनानी कम्पनी फोनोस इन्भेस्टमेन्टमा दर्ता भएको न्यायिक अधिकारीले बताएका छन् । 

फोनोसले सन् २०१९ मा कानुनी कारबाही सुरु गरेको थियो र घोसनमाथि ‘निजी सम्पत्तिमा अतिक्रमण गरेको र कानुनी आधार बिना घरमा बसेको’ आरोप लगाएको थियो ।

अदालतको कागजात अनुसार घोसनले निसानसँग सम्बद्ध रहेको कम्पनीद्वारा उहाँको निवासको लागि उक्त घर खरिद गरिएको थियो यस सम्बन्धमा निसानसँग एक हस्ताक्षरित सम्झौता छ जसले उहाँलाई त्यहाँ बस्ने अधिकार प्रदान गर्दछ ।

आदेशमा भनिएको छ, “घोसन र निसानबीचको सम्झौतामा घोसनले घर कब्जा गरेको निर्णयमा उल्लेख गरिएको छ । यद्यपि, उक्त सम्बन्धको अन्त्य र वादीको सम्पत्ति फिर्ता लिने इच्छाले उसको भोगाधिकारको ‘कानूनी आधार’लाई 
अमान्य बनाउँदछ ।”

रेनोल–निसान–मित्सुबिशी गठबन्धनका पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी घोसनलाई आर्थिक अनियमितताको आरोपमा सन् २०१८ को नोभेम्बरमा जापानमा पक्राउ गरिएको थियो ।

उहाँलाई अर्को वर्षको अन्त्यमा जापानबाट बाहिर जान नपाउने गरी जमानत दिइएको थियो तर उहाँ जापानबाट एक अडियो–उपकरण बक्समा लुकेर नाटकीय रूपमा भाग्नुभयो र बेरुतमा अवतरण गर्नुभयो । उहाँलाई एक अन्तर्राष्ट्रिय भगौडाका रूपमा हेर्ने गरिएको छ ।

घोसनले आफूविरुद्ध लगाइएका आरोपहरूको सधैं खण्डन गर्दै आउनुभएको छ भने उहाँले यसलाई आफूलाई फसाउन रचिएका बनाउटी आरोप भन्दै यसलाई आफुले  फ्रान्सेली साझेदार रेनोल्टसँग फर्मलाई अझ नजिकबाट सहकार्य (एकीकृत) गर्ने प्रयासको विरोधमा रहेका निशानका केही तत्कालिन उच्च अधिकारीले गरेको षड्यन्त्र भएको दावी गर्नुभएको छ । 

जापान र फ्रान्सले उहाँलाई पक्राउ गर्न माग गरेका छन् तर लेबनानले आफ्ना नागरिकलाई सुपुर्दगी गर्दैन र न्यायिक अधिकारीहरूले लेबनानी, फ्रान्सेली र ब्राजिलियाली नागरिकता भएका घोसनमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।