कोरोनाको तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केही देशमा कोरोनाको तेश्रो लहरको संकेत देखापरेको भन्दै नेपालमा पनि सम्भावित तेश्रो लहरको जोखिम न्युनकरणका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

उनले तेश्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताए । उनले आफु काम र परिणाममा विश्वास गर्ने जिकिर गरे । मन्त्री श्रेष्ठले नागरिकलाई खोप दिनुपर्ने अहिलेको ठूलो काम भएको भन्दै त्यसको लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी दिए । उनले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उहाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।