मनको पार गएर मात्र सुख मिल्दछ

मानिसको मन निकै चंचल छ र यसको गति निकै तिव्र छ । संसारमा सबैभन्दा छिटो केही यात्रा गर्दछ भने त्यो हाम्रो मन नै हो । यदि हाम्रो मन विना लगामको घोडा भभयो भने हामीले सुख पाउन सक्दैनौं र जिन्दगीमा सफलता प्राप्त पनि गर्न सक्दैनौं । तर बुद्धिले यो मनलाई नियन्त्रण गरी बुद्धिको निर्देशन अनुसार चल्न सक्यौं भने हामीले जिन्दगीमाा सुख समृद्धि र सफलता सबै प्राप्त गर्न सक्छौं ।

प्रत्येक व्यक्ति आफ्नो वर्तमानसँग असन्तुष्ट छ । एउटा कटु सत्य के हो भने यदि तपाई अहिलेको वर्तमान क्षणमा असन्तुष्ट हुनुहुन्छ भने अरू क्षणमा पनि असन्तुष्ट नै रहनुहुन्छ । यदि यस्तो भयो भने म सन्तुष्ट हुन्छु, यदि त्यसो भयो भने सन्तुष्ट हुन्छु भनेर सोच्नु हुन्छ भने त्यो तपाईंको मनको भ्रम हो । आफ्नो मनले जे जे भन्छ त्यो अनुसार जीवन जिउने व्यक्ति कहिल्यै पनि खुशी हुन सक्दैन । ऊ सँधै असन्तुष्ट रहन्छ किनकि असन्तुष्ट रहनु मनको स्वभाव हो । मन सधैं भविष्यमा जिउँछ, महत्वाकाङ्क्षामा जिउँछ । यो अरू जस्तो बन्ने, अरूको स्थितिमा पुग्ने चाहनाले भरिएको हुन्छ ।

कैयौंचोटी हामीलाई यो लाग्दछ कि हामीबाहेक सबैले राम्रो जिन्दगी बाँचेका छन् । सबै अगाडि बढीरहेका छन्, खुशी छन् । मेरा अगाडि मात्र दुःख लामो लाइन लगाएर उभिएको छ । के साँच्चै अरू व्यक्तिकहाँ सबै कुरा राम्रै भैरहेको हुन्छ र रु लेखिका लारा फ्रेशर भन्छिन्, ‘यस्तो हुँदैन कि अर्कोतर्फको घाँस बढी हरियो छ । कुरा यत्ति हो कि तपाईं एउटै समयमा मैदानको दुवै तर्फ रहन सक्नुहुन्न ।’

मानिसको मन निकै विचित्रको हुन्छ । उसलाई जे प्राप्त भएको छ त्यसबाट उ सन्तुष्टि हुँदैन । ऊ अरू बढी पाउने आशामा लालायित बन्छ । उसँग जे छ त्यो उसलाई कम देखिन्छ, जे छैन त्यो पाउन उ लालायित हुन्छ । मनले नयाँ नयाँ गन्तव्यहरू खोज्दछ । जुन गन्तव्य उसले हासिल गर्दछ, उसलाई त्यो व्यर्थ लाग्न थाल्दछ र अर्को गन्तव्यतर्फ अग्रसर हुन्छ । गन्तव्यको प्राप्तिको भूमिका उसमा अहंकार उत्पन्न गर्नु मात्र रहेको हुन्छ ।

यस्तै अहंकारले व्याकुल व्यक्तिहरूद्वारा यो संसार भरिएको छ । हाम्रो वरिपरि अरू व्यक्तिको अहंकारबाट पीडित व्यक्ति कम छन् तर आफ्नै अहंकारबाट पीडित व्यक्ति धेरै छन् । सबभन्दा ठूलो समस्या यो छ कि हामीले अरूको अहंकार त देख्दछौं तर आफ्नो देख्न सक्दैनौं । स्पिनोजाले भन्दछन्, ‘अहंकारी व्यक्ति आफ्नो राम्रो कामको र अरूको खराब कामको गिन्ती गरिरहन्छ ।’ यो साँचो कुरा हो कि कुनै क्षण आफ्नो खुसीका लागि मागेको वा चाहेको चिज त्यो चिज पाइसकेपछि पनि खुसी रहन सक्तैन । प्राप्तिको गन्तव्यमा पुगिसकेपछि व्यक्ति यो महसुस गर्छ पहिले उसले जुन कुरालाई गन्तव्य मानेको थियो तर त्यो त गन्तव्य नभएर भ्रममात्र रहेछ । अनि, त्यसपछि उसलाई अरू महत्वाकाङ्क्षाहरूले घेर्न थाल्दछन् ।
वास्तवमा यो सत्य हो कि अति महत्वाकाङ्क्षाहरू टुट्नको लागि नै हो । तपाई यदि यो सोंचेर दुःखी हुनुहुन्छ कि मेरो महत्वाकाङ्क्षा अधुरो भयो, तब तपाईं गलत हुनुहुन्छ । महत्वाकाङ्क्षाहरू कहिले कसको पूरा भएको छ र रु अति भएपछि खति हुन्छ भन्ने भनाइ छ, तैपनि हामीलाई होश आउँदैन ।

हामी सपना पनि अति नै देख्ने गर्दछौं र इच्छा पनि धेरै गर्दछौं । यिनीहरू रोकिने नामै लिंदैनन् । त्यसको प्राप्तिको बेचैनीले मान्छेलाई कहिल्यै छोड्दैन । अनि, जहाँ हामी पुग्न चाहन्छौं त्यहाँ पुग्न सक्दैनौ । ओशो भन्दछन्, ‘अतिशयोक्तिदेखि बच्नु जरूरी छ । यो असत्यको नै एउटा रूप हो, जुन लुकेर बसेको हुन्छ । कुनै पनि समस्या त्यति ठूलो हुँदैन जुन अतिशयोक्तिको कारणले देखिन्छ ।’ मनको यथार्थ यो हो कि यो जहाँ छ त्यहाँ यो सन्तुष्ट हुँदैन । धन र पदार्थले मानिसलाई सुविधा दिन सक्छ तर सुख र शान्ति दिन सक्दैन ।