बिरामीका आफन्तलाई अक्सिजन लिएर आऊ भन्न मिल्दैन, अस्पतालको जिम्मेवारी होः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । बिरामीका आफन्तलाई नै अक्सिजनको जोहो गर्न कुदाउने अस्पताल र चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । अक्सिजन व्यवस्थापनको काम बिरामी वा तिनका आफन्तको नभई अस्पतालको भएकाले त्यस्तो जिम्मेवारीबाट नपन्छिन स्वास्थ्य मन्त्रालयले सबै अस्पताल र चिकित्सकहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले भने, ‘कतिपय चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आऊ भनेको पाइएको छ । यसो गर्न मिल्दैन । अक्सिजन व्यवस्थापनको काम अस्पतालको हो ।’

अक्सिजन व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघले ५ सय ६० वटा सिलिन्डर उपलब्ध गराएको र चीन सरकारले अनुदानमा दिएको अक्सिजन पनि आजै आइपुग्न लागेको जानकारी पनि मन्त्रालयले दिएको छ । चीनले २० हजारवटा अक्सिजन सिलिन्डर र अरु केही स्वास्थ्य उपकरण अनुदानमा उपलब्ध गराएको छ । तीमध्ये दुई खेप गरी नेपाल वायु सेवा निगमका जहाजले कार्गो गरेका छन् भने केही भूसतहकै बाटो भएर तातोपानी नाकाबाट भित्रिँदै छन् ।

विभिन्न माध्यमबाट प्राप्त ती सिलिन्डर सातै प्रदेशका अस्पतालहरुमा पठाउन लागिएको प्रवक्ता सुवेदीको भनाइ छ ।