गैरआवासीय नेपाली संघले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण पठाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको महामारीविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।

बैठकमा नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव विज्ञहरूले दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीब्र रुपमा बढिरहँदा बिरामीहरुले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिए ।
बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतामा टेलिमेडिसिन सञ्चालन भइरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।
बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सकृय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे ।

गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए ।

संघका महासचिव डा हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती थियो ।

बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ बिरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।