कर्णाली नजिरले ओलीलाई देशव्यापी धक्का, अबको कदम के होला ?

काठमाडाैं । कर्णालीमा गएको राजनीतिक भूकम्पले प्रधानमन्त्री केपी शर्मा ओलीको गाथगादीमा गम्भीर धक्का पुगेको छ । सम्भवतः उनी र उनका सहयोगी एवं रणनीतिकारहरुले यो सोचेका पनि थिएनन् कि आफ्नै पार्टीका सांसदहरुले माओवादीलाई मत दिएर विपक्षी गठबन्धनलाई जिताउँछन् भनेर । अन्ततः भयो त्यस्तै । एमालेको माधव नेपाल खेमाका चार सांसद फ्लोर क्रस गर्न पुगे । एकल बहुमतमा रहेको एमाले प्रतिपक्षी बेन्चमा साँघुरिएर बस्नुपरेको मात्र छैन, अल्पमतको माओवादीको शासन पनि थप झेल्नुपरेको छ । यति मात्र होइन, कांग्रेसलाई पनि माओवादी गठबन्धनमा शुक्रबारबाट औपचारिकरुपमा सामेल गराइदिएको छ ।

कर्णालीका परकम्पहरु अब लुम्बिनी र गण्डकीमा पनि आउने निश्चित भएको छ । गण्डकीमा त कांग्रेस र माओवादी मिलेर अविश्वासको प्रस्ताव नै दर्ता गरिसकेका छन् । रातारात अन्त्य संसद अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन माग गर्दै समावेदन पनि गरिएको छ । माधव नेपालले विपक्षी गठबन्धनलाई साथ दिनेबित्तिकै ओली पक्षको अब कतै पनि सत्तामा टिक्ने छैनन् । सबै प्रदेशका सरकार एमालेमुक्त बनाउन माधव नेपालको एमाले नै पर्याप्त देखिएको छ ।

ओली स्वयंको शासन ढाल्न पनि माधव नेपाल अब निर्णायक शक्ति बन्ने भएका छन् । माधव नेपाल पक्षधरले विपक्षमा मतदान गर्नेबित्तिकै केन्द्रमा समेत ओलीको सरकार बाँकी रहने छैन । यो तहको धक्का खानुपर्ला भनेर ओली र उनको सहयोगी मण्डलीले सायदै सोचेको थियो । हुन त ओली अहिले पनि पार्टीको संस्थापन हुन् । उनको अत्यधिक बहुमत छ, केन्द्रीय समिति र संसदीय दलमा । त्यसैले उनले नेपाल पक्षधर सबै सांसदलाई कारवाही गर्न सक्छन् । त्यसो गर्दा नेपालको शक्ति कमजोर हुनेछ । संसदबाट सडकमा आउनेबित्तिकै नेपालको चलखेल कम हुने आकलन गर्न सकिन्छ । तर, जनताको भोटबाट जितेर आएका आफ्नै पार्टीका सांसदलाई कारवाही गरेर सत्ता टिकाउनु भनेको अर्को आत्मघाती कदम हो ।

हुन त आफ्नै पार्टीका सांसद आफ्नै बहुमतको सरकार ढाल्न लागिपर्छन् भने तिनलाई कारवाही गर्नु राजनीतिक औचित्यका दृष्टिले बाध्यात्मक मान्न पनि सकिएला । ओलीका रफ्फुकारहरुले अरु तर्कहरु पनि ल्याउलान् । तर, अब तर्कले शासन टिक्ने देखिँदैन । संसदीइ गणितले नै प्रमाणित गर्नुपर्नेछ ।
कर्णालीमा ओली पक्षको सेखी झार्न पाएकामा नेपाल पक्षले विजयको अनुभूति गरेको छ । उनीहरुमा बेग्लै आत्मविश्वास पलाएको देखिन्छ । केन्द्रदेखि प्रदेशसम्मै सम्भवतः खुसीका लड्डु बाँडेका छन् । यो सिलसिला कायम रहेमा ओली पक्ष अब चाँडै नै सडकमा पुग्नेछ । किनभने, विपक्षी गठबन्धनलाई कर्णाली घटनाले निकै ठूलो हौसला मिलेको छ । कांग्रे र माओवादीको गठबन्धनले स्पष्ट आकार लिएर, कार्यान्वयनमा गएर, परिणामसमेत हात परिसकेको छ । गण्डकी प्रदेशमा जसपा र जनमोर्चा समेत विपक्षमा मिसिएको छ । गण्डकीकै जस्तो अंकगणित लुम्बिनीमा भएकाले अब त्यही गठबन्धन अझै ठोस बन्दै जाने भएको छ ।

कर्णाली प्रकरणले अब सबैभन्दा ठूलो जवाफ शेरबहादुर देउवाले पाएका छन् । एमालेको औपचारिक विभाजन नभएको भन्दै सत्ता गठबन्धनको कसरतबाट पछि हटेका उनले बल्ल बुझेका छन् कि एमाले विभाजन नहुँदा पनि आफ्नो सत्ताको सिँढीमा काँध थाप्ने माधव नेपालहरु आतुर रहेछन् । माओवादीले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । अनि त्यही बेला माधव नेपालको साथ लिएर ओलीलाई ढाल्नुपर्छ भन्नेमा प्रचण्ड र देउवाको मतो मिलिसकेको छ ।


कर्णाली नजिरले अर्को सन्देश जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतोलाई पनि दिएको छ । उनीहरु दिनहुँजसो बालुवाटार धाइरहेका छन् तर अब बालुवाटारमा सत्ता साझेदारीको हिसाबकिताब चलिरहँदा यता अर्को अंक गणितको खेल भइसकेको हुनेछ । कांग्रेस, माओवादी, माधव नेपाल खेमाको एमाले र उपेन्द्र यादव पक्षको जसपा मिलेर ओलीलाई जुनसुकै बेला सत्ताच्युत गर्न सक्ने स्पष्ट संकेत देखिएका छन् । कर्णाली एउटा टेस्ट केस थियो, प्रमाणित भयो ।