सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

काठमाडाैँ। महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो ।

सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मङ्गोलाले बताउनुभयो । अहिले डिम्मर र मटयानीका ४५ किसानको खेत बाँझै छ । उहाँले भन्नुभयो, “वर्षको तीन बाली उत्पादन हुने खेत अहिले बाँझै छ ।

रोपाइँ हुने समय हो, तर कुलो नभएपछि समस्या भएको छ ।” यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहँुको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मङ्गोलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गहुँ पाक्ने बेला सिँचाइ नभएर उत्पादनमा कमी भयो, अब रोपाइँको बेलामा पनि समस्या भएको छ ।” मेसिनमा समस्या आएकाले उक्त क्षेत्रमा निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको काम हेर्ने आयुश चन्दले बताउनुभयो ।

नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ ।