काठमाडौँ प्लाजाबाटै सेवा दिँदै कामपा

नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । आज सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको कामपाको कार्यालय काठमाडौँ प्लाजा सारिएको छ । कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइलगायतका कार्यालय आज सर्ने बताइएको छ । अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।

कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने र कोठा विभाजनको काम भइरहेको छ । ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो । “मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ”, सहायक प्रवक्ता अधिकारीले भन्नुभयो, “सर्नका लागि जति आलटाल ग¥यो कामपालाई उतीनै घाटा लाग्छ दुईतिर भाडा दिर्नुपर्छ त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ ।”

उहाँका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार कामपा प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत आठ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो । विसं २०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण बागदरबारमा क्षति पुगेपछि विभिन्न स्थानमा छरिएर सेवा दिन कामपा बाध्य भएको हो । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् ।

सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छन् । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छन् । प्लाजाको ग्राउण्ड फ्लोरमा पार्किङ, नगर प्रहरी बल, बैंक काउन्टर, आपत्कालीन सेवा केन्द्र, विपत् व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जीकरण सेवा राख्ने तयारी छ । यसैगरी पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष र विषयगत समितिको कार्यकक्ष राख्ने योजना छ । दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपक्षी विभाग, शिक्षा विभाग, कानून तथा मानव अधिकार विभाग र इजलास राखिनेछ ।

तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, अनुगमन तथा मूल्याङ्कन एकाइ, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय रहने छन् । चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाइ, सूचना प्रविधि विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ । पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर राखिने बताइएको छ ।