रवि लामिछानेले भने:सरकारमा जाने नजाने उपचुनावपछि निर्णय गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरु सरकारमा नजाने बताएका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

लामिछानेले भने( निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।

“हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ । सरकारले सही बाटो लियो भने त्यसपछि सोच्नेछौँ । निर्वाचन सकिएपछि समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्नेछौँ ।”

प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए ।