राष्ट्रपति कसले पाउने भन्ने चासो,सुवास नेम्वाङ कि अष्टलक्ष्मी शाक्य ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सकिएलगत्तै (तत्कालीन सत्ता गठबन्धनमा) प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति कसले पाउने भन्ने चासो चुलिएको थियो ।

आइतबार अप्रत्याशित रूपमा राजनीतिक समिकरण वदलिएपछि सत्तागठबन्धन भत्कियो। सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि माओवादी अध्यक्ष दाहाल बालकोटस्थित ओलीको निजी निवास पुगेका थिए ।त्यपछि नयाँ राजनीतिक विकासक्रम सुरु भयो। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियाे।

आइतबार दिनभर भएका नाटकीय घटनाक्रमले ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति’दयगत धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।राष्ट्रपति पद एमालेले पाएको छ । वाहलवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन केही समय मात्रै बाँकी छ । 

आइतबार भएको सहमतिअनुसार एमालेबाट हुने सम्भावित राष्ट्रपतिका लागि दुई नेताको नाम चर्चामा छ, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्य।  यी नाम एमालेका विभिन्न भातृ संगठनकका फेसबुक ग्रुप र च्याट ग्रुपमा निकै बहसमा आएका छन् ।नेम्वाङ संविधानसभा अध्यक्ष हुन्। एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिने नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका थिए।उता, छोटो समय बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य भूमिगत कालदेखि नै कठोर संघर्ष गरेकी सिनियर नेतृभित्र पर्छिन् ।

नेम्वाङ इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् भने शाक्यले यसपालि नयाँ पुस्तालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने निर्णय गरेकी थिइन्।