सत्ता गठबन्धनका नेता संसद भंग गरेर अर्लि इलेक्सनमा जाने कुरा किन गर्दैछन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले लगातार रुपमा संसद विघटन गर्न थालेपछि सत्ता गठबन्धन दलभित्रबाटै संसद विघटनको कुरा उठ्न थालेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेपछि संसद र संविधान बचाउन भन्दै एक ठाउँमा उभिएका दलका नेताहरुबाटै फेरि यस्तो अभिव्यक्ति बाहिर आउनु बुझिनसक्नुछ ।

एमालेको अवरोधले दिक्क भएका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद नै भंग गरिदिए अवरोध हुने ठाउँ नै नरहने बताएका हुन् ।

हाउस चल्न नदिने र भत्तामात्र खाने केपी ओलीको वितण्डाको सामना गर्न भंग गर्नु नै उपयुक्त हुने बताएका हुन्।

अध्यक्ष नेपालको अभिव्यक्तिप्रति सत्तारूढ नेताहरू समेत असन्तुष्ट छन् । एमालेले भदौ २३ देखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेको माग पूरा गर्दा माधव नेपाललाई अप्ठ्यारो पर्न सक्ने भन्दै प्रधानमन्त्री देउवा मान्न तयार छैनन् । एमसीसीका कारण वर्तमान गठबन्धन झण्डै फुटको स्थितिमा पुगेको थियो ।

त्यसो त अर्काे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बेलाबखत संसद भंग प्रस्ताव ल्याउने गर्छन् । शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा समेत यो बिषयमा छलफल भएको बताइएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यसरी कहिल्यैसम्म संसद चलाएर बस्ने भनि प्रश्न गर्छन् ।

तर प्रतिनिधिसभा भंग गर्न प्रधानमन्त्री तयार दखिदैनन् । यस्तै नेकपा एमालेले अर्लि इलेक्सनको प्रस्तावलाई स्थानीय तहको निर्वाचन पर धकेल्ने षडयन्त्रको रुपमा लिएको छ। सत्ता साझेदार दलका एक नेता भन्छन्, प्रतिनिधिसभा भंग गर्ने विषय सोच्न समेत सकिँदैन ।

विगतमा प्रधानमन्त्री नहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनको प्रस्ताव गरेका थिए तर अहिले प्रधानमन्त्री भएपछि उनकाे मुखबाट याे कुरा सुनिएकाे छैन ।