वामदेव आफ्नै कारणले पत्तासाफ

जबजब नेपालमा कम्युनिस्ट पार्टी ठूलो आकारमा देखापर्छ, अनि वामदेव गौतमका हातमुख चिलाउँछन् । जब नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आशा पलाउँछ, तब वामदेवभित्रको विभाजनकारी सोच हावी हुन्छ । अहिले त्यही भयो ।

नेपालको इतिहासमै ठूलो पार्टी बनेको नेकपालाई धुलोपीठो बनाउनेमध्येका एक मुख्य सूत्रधार वामदेव गैतम देखिएका छन् । २०५१ सालमा अल्पमतको सरकार बनाएर पनि मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेले केही लोकप्रिय काम गरेको थियो । त्यसैको जगमा एमाले बहुमत प्राप्त गर्ने दिशामा अग्रसर थियो । तर, वामदेवजस्ता नेता भएपछि कसको के लाग्छ रु देशको पहिलो ठूलो पार्टी एमाले बनेको देखी सहेनन् । उनले पार्टी फुटाएर माले बनाए । लोकेन्द्रबहादुर चन्दजस्ता पूर्वपञ्चसँग घाँटी गाँस्न पुगे । आफू जसरी पनि उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुपर्ने उनको एकसूत्रीय एजेन्डाका कारण पार्टीलाई बलि चढाइयो । त्यसपछिको चुनावमा उनको आफ्नो पार्टी त सोत्तर हुनुपर्ने नै थियो, एमालेलाई पनि अस्तित्वको लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुर्याए ।

नेपाली राजनीतिका निकै अस्थिर र विवादास्पद पात्र वामदेवले आफ्नो वास्तविक चरित्र नेकपा र प्रतिनिधिसभा विघटनमा पनि प्रमाणित गरिदिए । सचिवालयका नौ सदस्यमध्ये चारजना ओली पक्षमा र अरु चारजना प्रचण्ड पक्षमा देखिँदा वामदेव निर्णायक अवस्थामा थिए । उनले चाहेको भए पार्टी एकता जोगाउन सक्थे । तर ओलीको विरुद्धमा मोर्चाबन्दी गर्न वामदेव प्रचण्ड पक्षमा ढल्किएपछि पार्टी विभाजनको अवस्था आएको हो । यो कुरा नेकपाका हरेक कार्यकर्ताले हिसाब राखेका छन् ।

अहिले नेकपा विभाजित भएको भनिए पनि वास्तवमा यो विघटन भएको हो । नेकपा एमाले र माओवादीका दुई पूर्वसमूहले आ–आफ्नो बाटो रोजेका छन् । र, यो अवस्थासम्म ल्याइपुर्याउने एउटा मुख्य पात्र वामदेव गौतम नै हुन् ।

बर्दियाबाट चुनाव हारेपछि रन्थनिएका वामेदव गौतम जसरी पनि यो चुुनाव गलत सावित गर्न चाहन्थे । त्यसका निम्ति पार्टीमा छानबिन कमिटी बनाउन लगाए । र, केपी शर्मा ओलीले नै हराउन लगाएको निष्कर्ष उक्त टोलीमार्फत् वामदेवले स्थापित गर्न खोजे । त्यसपछि उनले आफूलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षका लागि मोलमोलाइ गर्न थाले । तर, यी दुवै कुरा तत्कालको परिस्थितिमा सम्भव थिएन ।

यही झोँकमा उनी कहिले प्रचण्ड र माधव नेपालसँग मोर्चाबन्दी गरेर ओलीसँग मोलमोलाइ गर्ने त कहिले ओलीकहाँ गएर प्रचण्ड–माधव गुटसँग हिसाबकिताब खोज्ने प्रवृत्ति देखाए । यसै गरीगरी वामदेवले आफ्नी श्रीमतीलाई सांसद बनाए । आफ्ना लागि पार्टीको विधानै संशोधन गराएर नयाँ पद सिर्जना गरी उपाध्यक्ष भए । चुनावमा व्यक्त जनमत र संविधान कुल्चेर राष्ट्रिय सभाको सांसद बने । राष्ट्रिय सभाको सांसद पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधानै संशोधनसम्मका प्रयास गराएर पार्टीलाई बदनाम बनाए ।

अन्तिममा उनको प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै पनि पद प्राप्त गर्ने सम्भावना नभएपछि पार्टी नै फुटाउने रणनीतिमा लागे ।
अहिले वामदेव झट्ट हेर्दा पार्टी एकताका पक्षधर देखिन्छन् । विभाजनका विरोधी देखिन्छन् । अझै पनि उनी विभाजनको साक्षी नबन्ने भन्दै अलग बसेजस्ता देखिन्छन् । पार्टी एकताकै लागि कोशिस गरिरहेजस्तो देखाउन खोजिरहेका छन् । तर, यी सबै कुरा कृत्रिम रहेको घटनाक्रमले देखाउँछ । यिनले यसतर्फ केही प्रयास गरेकै भए पनि अब ती निरर्थक हुनेछन् ।

किनभने, अब वामदेवको पक्षमा उनकै पत्नी तुलसा थापा समेत छैनन् । वामदेवका भक्तहरुमध्ये बलराम बाँस्कोटाले पनि कित्ता स्पष्ट गरिसकेका छन् । पहिला एमाले फुटाएर माले बनाउँदा दिलोज्यानले साथ दिएकाहरु अहिले पश्चात्तापपूर्ण अवस्थामा पुगेका छन् । महाकाली सन्धि प्रकरणमा पार्टी फुट्दा राष्ट्रवादको जलप लगाइएको थियो । ती सबै नक्कली कुरा रहेछन् भन्ने कुरा अहिले उनको चरित्रबाट प्रमाणित भएको छ । भारतीय उक्साहटमा प्रचण्ड नेतृत्वको विभाजनकारी गुटलाई फलाउने फुलाउने काममा वामदेव यति सारो नलागेको भए, अहिलेको अवस्थामा आउने थिएन भन्ने कुरा प्रचण्ड र ओली दुवैलाई लागेको छ ।

अहिले पनि प्रचण्ड ओलीले फकाउँदा फकिन सक्ने मान्छे हुँ तर परिबन्दले अर्को धारमा पुर्याएको पश्चात्तापपूर्ण अभिव्यक्ति दिइरहेका छन् । यसको अर्थ हो, वामदेवले दोहोरो भूमिका खेलेर एकअर्काविरुद्ध नउचालेका भए पार्टी र संसद दुवै विघटनको अवस्थामा पुग्ने थिएनन् ।

जे होस्, राजनीतिका यस्ता पात्रलाई समयले पनि सजाय दिन्छ । इतिहासले पनि मूल्यांकन गर्छ । अहिले किन रोइस् मंगले, आफ्नै ढंगले भनेजस्तै वामदेव भैँसेपाटीमा एक्लै दिन बिताउनुपर्ने अवस्थामा पुगेका छन् । पार्टी फुटाएपछि अगुवा पछुवाको लावालस्कर लगाउने उनको दाउ थियो । संसद नै नरहेपछि प्रचण्ड–माधव सडकमा आइपुगेका छन् । वामदेवसँग त सडकमा देखाउनलायक छवि पनि बाँकी रहेन । अब उनीसँग एकजना हरि पराजुली भन्ने चर्चित पूर्वकृषिमन्त्री मात्र बाँकी छन् । म्यारिज खेलेर बस्नका लागि पनि कोरम नपुग्ने अवस्थामा वामदेव पुगेका छन् । अब ओली–प्रचण्ड वा ओली–माधवका बीचमा वामदेवबिनै वार्ता गर्ने हो भने मध्यमार्गी मिलनविन्दु फेला पर्न पनि सक्छ, जसले नेपाली राजनीतिको अस्थिरतातर्फको यात्रा रोक्न छन् ।