अबको भूमिका पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनेतर्फ: एमाले लुम्बिनी अध्यक्ष कंडेल

काठमाडाैँ। नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले नवनिर्वाचित प्रदेश कमिटीको अबको भूमिका पार्टीलाई एकताबद्ध, सशक्त र सुदृढ बनाउन केन्द्रित हुने बताएका छन् । पार्टीले मिशन–०८४ र सबै तहमा कम्तीमा ५१ प्रतिशत बहुमतमा एमालेलाई पुर्‍याउने लक्ष्यका पार्टीका सबै गतिविधि केन्द्रित गरेको हुँदा उक्त लक्ष्य हासिल गर्ने दिशामा एकताबद्ध ढंगले परिचालित हुने प्रतिबद्धता अध्यक्ष कंडेलले व्यक्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष कंडेलले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयनलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र अन्य नेताहरूको नाम जोडी पार्टीमा गुट, उपगुटको दुष्प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्।

अध्यक्ष कंडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता दुष्प्रचारप्रति पूर्ण रूपमा सजग र सचेत रहेको र पार्टीमा कुनै गुट, फुट र विभाजन मान्य नरहेको जनाएका छन् ।

उनले भनेका छन्– श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वोपरि मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकतावद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ।

अधिवेशन अभूतपूर्व रूपमा भव्य र सभ्य ढंगले सम्पन्न भएको र यसले लोकतन्त्रको अभ्यास कसरी गर्ने भनेर सबै पार्टीलाई सिकाएको बताउँदै उनले यसबाट सबै कम्युनिष्ट पार्टी र अन्य बुर्जुवा सुधारवादी पार्टी समेतलाई मार्गदर्शन गरेको विश्वास व्यक्त गरेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि एमालेले लुम्बिनी प्रदेशबाट अधिवेशन सुरू गरेर संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा अर्को एउटा इँट्टा थप्ने काम गरेको उनको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष कंडेलले अधिवेशनको उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने प्रमुख अतिथि अध्यक्ष ओली, सबै अतिथिहरू, अधिवेशनका प्रतिनिधिहरू, अध्यक्ष मण्डल, निर्वाचन आयोग लगायत अधिवेशनलाई भव्य र सभ्य ढंगले सफल बनाउन विभिन्न उपसमितिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरू, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिएका छन् ।