विपद्मा जनताले प्रदेश सरकारको महसुस गरुन् : मुख्यमन्त्री पाण्डे

काठमाडाैँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्मा जनताले प्रदेश सरकारको महसुस गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा आज उहाँले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार, उपचार, राहतका सवालमा विशेष ध्यान दिन सम्बद्ध सरोकारवालालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सर्वसाधारण नागरिकको सेवा सधँै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी काम गर्नुपर्छ ।”

प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उहाँले अनुरोध गर्नुभयो । सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक स्थानीय तह, सङ्घसंस्था, निजी क्षेत्रलगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेकामा जोड दिनुभयो ।

मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य विपद्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सतर्कता अपनाएको उल्लेख गर्दै उहाँले तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले सहयोग बताउनुभयो । उपलब्ध सामग्री, साधन स्रोत भण्डारण गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले आजै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गर्नुभएको छ ।

उहाँले वेन मेटी (खाना तातो बनाउने मेसिन), मोटरबोट र विभिन्न किसिमका उद्धार सामग्री गरी करिब रु ५२ लाखको सामग्री हस्तान्तरण गर्नुभएको हो । यी सामग्री सुरक्षा निकायले आवश्यकताअनुसार प्रदेश र जिल्लाहरूमा पठाउनेछन् ।

गण्डकी प्रदेश सरकारले विपद्मा परेकाको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ । बैठकमा प्रतिपक्ष दलका नेता खगराज अधिकारी, मन्त्रीहरू, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, विभिन्न सङ्घसंस्था, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो