लोकरिझ्याइमा स्वास्थ्यमन्त्री पौडेल, मेडिकल विश्वविद्यालय रोकेर १० बेडको इमरजेन्सी उदघाटन

काठमाडौँ, ७ भदौः  कृष्णप्रसाद सिटौलाको गुटबाट हुर्किबढेका प्रदीप पौडेल कांग्रेसको अघिल्लो महाधिवेशनमा पराजित भए। 

भलै ०७९ को निर्वाचनमा उनले काठमाडौं ५ बाट विजयी हासिल गरे। र, संसद पुग्ने अवसर पाए। सँगैका साथीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने कांग्रेसमा महामन्त्री छन्।

कांग्रेस र एमालेको गठबन्धनबाट गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पौडेलले स्वास्थ्यमन्त्री बन्ने अवसर पाए। तर,युवा नेता पौडेल पनि लोकरिझ्याइमा व्यस्त छन्। 

उनी काम कम प्रचार बढी गर्छन्। भइआएका कार्यक्रमलाई फूलबुट्टा भरेर नयाँ बनाई घोषणा गर्दा स्वास्थ्य मन्त्रालयका कर्मचारी वाक्कदिक्क छन्।

तिनै स्वास्थ्यमन्त्री पौडेलले बिहीबार कैलालीमा चटक देखाए। कैलालीको गेटामा नेपालकै पहिलो मेडिकल विश्वविद्यालय स्थापना हुँदैछ। संसदबाट विधेयक पनि पारित भइसकेको छ, दशरथचन्द मेडिकल विश्वविद्यालय। 

तर, मेडिकल विश्वविद्यालयका लागि पदाधिकारी नियुक्तिदेखि अन्य काम थाल्नुपर्नेमा पौडेलले बिहीबारर १० बेडको इमरजेन्सी बेड उदघाटन गरे। विश्वविद्यालय चलाउने भनेर अर्बाै रुपैया खर्चेर बनाइएको संरचनामा दुई वर्षदेखि ५० बेडको अस्पताल चलिरहेको छ, अस्पताल नाम मात्रको हो। अब इमरजेन्सी १० बेड थपिएको छ। 

स्वास्थ्यमन्त्रीको यो कदमले अन्य दलका नेता मात्र होइन कांग्रेसभित्रै आलोचना हुने गरेको छ। स्वास्थ्यमन्त्री पौडेलले इमरजेन्सी बेडको उदघाटन गर्दैगर्दा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। 

गेटामा ६ सय बेडको अस्पताल अनि चिकित्सा शिक्षा पढाउन पर्याप्त भौतिक संरचना छ। तर, मन्त्री पौडेलले महाकाली र सेती प्रादेशिक अस्पतालमा चिकित्सा अभ्यास गराइने बताएपछि झन आक्रोश बढेको छ। ति अस्पताल प्रदेश मातहतका हुन्।