भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार
काठमाडौँ, ५ भदौ : चितवनको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् ।
गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरुले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । उनीहरुले रु तीन करोड ३३ लाख ७६ हजार ३५८ बराबरको सेवा लिएको ढकालले बताउनुभयो ।
त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उहाँले बताउनुभयो । आकस्मिक सेवामा गरिएको उपचारमा रु ७३ लाख ८१ हजार ६५२ खर्च भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताउनुभयो । सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताउनुभयो ।
लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् ।
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
प्रतिक्रिया