च्याउ खाँदा बिरामी परेका एकैघरका थप तीनको मृत्यु

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ ।
यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।

गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए ।
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताउनुभयो ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताउनुभयो ।

ढिलो गरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन”, डा पौडेलले भन्नुभयो, “विषले शरीर विषाक्त बनाइसकेको थियो । उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो ।

घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पु¥याएको हो ।

वडा नं १ मा स्वास्थ्यचौकी नहुँदा निजी औषधि पसलमा लिएर उपचार गर्दा बिरामीले उपचार पाएका थिएनन् । बिरामी भएको तीन दिनपछि मात्र उपचारका लागि हेलिकप्टरमा उद्धार गरिएको थियो ।