अवैध रुपमा ल्याएकाे २१ लाख बढीका सामान बरामद

काठमाडौँ, १५ असोजः:जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ । प्रहरीले सोमबार नेपालगन्जका विभिन्न ठाउँबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानहरु नेपालगन्ज उपमहानगरपालिका ४ न्यूरोड र नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीबाट बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले न्यूरोडबाट ११ क्वीन्टल चिनी र चिनी ढुवानीमा प्रयोग भएको रा १ च ७२० नम्बरको पिकअप गाडी बरामद गरेको हो । गाडीसहित उक्त चिनीको मूल्य अन्दाजी २० लाख ८८ हजार रुपियाँ रहेको छ । त्यसैगरी अन्दाजी ४९ हजार ७०० रुपियाँ बराबरको धम्बोझीबाट कुर्तासुरुवाल र बच्चाको जुत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

चिनी, चिनी ल्याउन प्रयोग गरिएको पिकअप गाडी, कुर्तासुरुवाल र जुत्ता गरी २१ लाख ३७ हजार ७०० रुपियाँ बराबरका सामानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।