विकल बाल प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ, ६ असोज : अभिनव साहित्य समाजले २२औँ विकल बाल प्रतिभा पुरस्कार प्रदान गरेको छ । प्रसिद्ध साहित्यकार रमेश विकलका नाममा समाजले स्थापना गरेको पुरस्कार कोषको रकमबाट प्राप्त ब्याज र प्रवेश शुल्कका आधारमा माध्यमिक विद्यालयस्तरीय आशु (स्थलगत) कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरी पुरस्कार दिइएको हो । 

कविता लेखन तथा वाचन प्रतियोगितामा बाल संसार माविका कृसप पौडेल प्रथम हुनुभएको छ । यसैगरी, कान्ति भैरव गुरुकुलका पुष्प खरेल, विद्या व्यायामका सविन सुनार, ग्रिन तथा चाइल्ड हेभेनका पारस ढौली र विद्या सागरबाट सञ्जु राईलाई क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले राससलाई जानकारी दिनुभयो । 

विजयी छात्रछात्रालाई नगद रु पाँच हजार, रु तीन हजार, रु दुई हजार, र रु एक हजार नगद, प्रमाणपत्र र बालसाहित्यका पुस्तक प्रदान गरिएको थियो । यसैगरी, सहभागी सबैलाई प्रमाणपत्र र एउटा बाल साहित्यका पुस्तक प्रदान गरिएको छ । कार्यक्रममा साहित्यकारहरु खोलाघरे साहिँलो, विजय चालिसे, विमल अर्याल, समाजका अध्यक्ष घिमिरे वेदमणिलगायत पदाधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।