‘जीवन संस्कारका रुपमा योगलाई विकास गरिनुपर्छ’

 काठमाडौँ, ६ असोज : योगलाई जीवन संस्कृति र संस्कारका रुपमा विकास गर्न तीनै तहका सरकार र आम नागरिकको एकीकृत प्रयासमा जोड दिइएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ओख्रेनी माविमा आज सुन्दरीजल योग केन्द्रको १६औँ वार्षिकोत्सव कार्यक्रममा जनप्रतिनिधि र योगका अभियानकर्मीले योगको मर्मलाई आत्मसात् गर्दै व्यवहारमा रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामेश्वर फुयालले योग शिविरले विगत १६ वर्षदेखि सुन्दरीजलसहित काठमाडाँैको उत्तरपूर्वी भेगमा सञ्चालन गरेका कार्यक्रमबाट जनताको   चेतना वृद्धि भएको उल्लेख गर्नुभयो । निरन्तर योगमा सक्रिय महिलाको समाज सेवाको भाव प्रशंसनीय रहेको उहाँको भनाइ थियो । 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले हाल नगरपालिकाभित्र ३२ योग केन्द्र सञ्चालनमा रहेका र नगरपालिकालाई योगमय नगरका रुपमा विकास गर्न लागिएको बताउनुभयो । पहिलोपटक अङ्गदान गर्नुहुने दधिची ऋषिले तपस्या गरेको बागमती र नागमतीको सङ्गमस्थलमा दधिचीऋषिको आश्रम बनाएर ध्यान केन्द्रका रुपमा विकास गरिने कार्यक्रम रहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

उद्योगपति अर्जुन थापा, गोकर्णेश्वर नगरपालिका–१ का सदस्य कृष्ण तामाङ्गलगायतले नियमित योग र ध्यानबाट प्राप्त हुने फाइदाका बारेमा जानकारी गराउँदै सबैलाई जागरुक गराउन प्रयास गरिने बताउनुभयो ।     पतञ्जलि योग समितिका नगर संयोजक जयराम घिमिरेले योगका लागि आवश्यक भौतिक पूर्वाधारमा थप सहयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।