छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने

पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् ।

भिड जम्मा भएपछि प्रहरी वृत्त बालाजु र वृत्त सोह्रखुट्टेका डीएसपी नेतृत्वको टोली वनस्थलीमा खटाइएको छ ।तर, आज (आइतबार)नै बालाजुबाट रवि लामिछानेलाई पक्राउ नगरिने प्रहरीका उच्च अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । छविलालको बयान लिएपछि थप अनुसन्धान अघि बढ्छ ।’ छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । 

पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीलेलामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनपछि पूर्व डीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेर कास्कीमा पठाएको छ । रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका हुन् । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।  गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उनलाई पक्राउ गर्न इन्टरपोलबा रेड नोटिस जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।