सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाइ पोखरा लगिँदै

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन गरेको केही घण्टामा नै आइतबार छविलाल जोशी पक्राउ परे । नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार उनलाई ‘जरुरी पक्राउ पुर्जी’ दिइएको छ । अदालतबाट पक्राउ अनुमति जारी नभएको अवस्थामा अनुसन्धान अधिकृतहरूले जरुरी पुर्जी दिएर आरोपीलाई नियन्त्रणमा लिन्छन् । उनलाई अनुसन्धानका लागि पोखरा लगिँदै छ । बुद्ध एयरको साँझ ८ बजेको उडान मार्फत पोखरा लान थालिएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

गोर्खा मिडियाका निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हुन् ।